म्याग्दी घारका खड्काको उपचारार्थ संकलित रकम सार्वजनिक

पोखरा । प्यानक्रियाजमा समस्या भई उपचाररत म्याग्दीका शेरबहादुर खड्काको उपचारार्थ संकलित रकम आज सार्वजनिक गरिएको छ । घार गाँउवासी, पोखरा, काठमाडौं, चितवन र विभिन्न देशबाट संकलित रकम बिरामीका आफन्तले घार म्याग्दी–पोखरा समाजको समन्वयमा पोखरामा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरेका हुन् । समाजले देश तथा विदेशका विभिन्न सहयोगदाताबाट ५ लाख ५८ हजार ८ सय ७९ खड्काको उपचारार्थ संकलन गरेको युवा समाजसेवी राजाराम बरुवालले जानकारी दिए ।

प्यानक्रियाजको समस्याका कारण पोखराको फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत खड्काको उपचारमा हालसम्म ५ लाख लाख १३ हजार ५ सय ४० खर्च भएको उपाध्यक्ष बरुवालले जानकारी दिएका छन् । त्यसमा अस्पतालका तर्फबाट १ लाख छुट भएको उनले जानकारी दिएका छन् । बाँकी रकम खड्काका परिवारलाई आइतबार नै हस्तान्त्रण गरिएको समाजले जनाएको छ ।

समाजले थालेको शेरबहादुर खड्का उपचारार्थ सहयोग कोषमा घार म्याग्दी–पोखरा समाजबाट ५६ हजार ६० रुपैयाँ, घार समाज जापानबाट १ लाख २५ हजार ५ सय, घार–खिवाङ म्याग्देली सेवा समाज, दोहा कतारबाट ४१ हजार १ सय १०, कुवेतबाट २७ हजार १ सय ९३, पोर्चुगलबाट २७ हजार ४ सय ७३, अष्ट्रेलियाबाट ५६ हजार ६ सय ३० र बाँकी अन्य सहयोगीहरुबाट संकलन गर्न सफल भएको समाजका सचिव विष्णु बरुवालले जानकारी दिए ।

समाजले घारमा रहेका स्थानियहरुको भरोसाको केन्द्रका रुपमा घार म्याग्दी–पोखरा समाज स्थापित हुन लागेको समाजका उपाध्यक्ष गोकर्ण बरुवालले बताए । उनले समाज मर्दा र पर्दा चाहिने भन्दै पैसाको अभावमा कोही पनि अकालमा मर्न नपरोस् भन्दै समाजले थालेका राम्रो काममा साथ दिन सबैसंग अनुरोध गरे । उनले सो अवसरमा यो अभियानमा देश तथा विदेशबाट सहयोग पु¥याउने सबैलाई धन्यवाद व्यक्त गर्दै मातृ भूमिप्रतिको उत्तरदायित्वलाई जहाँ गएपनि नभूल्न आग्रह गरेका थिए ।

साथै सो कार्यक्रममा सबैको सहयोगका कारण आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भइरहेको पिडित विरामी शेरबहादुर खड्काले बताए । उनले आफूलाई सहयोग गरेर नयाँ जीवन दिनका लागि भइरहेको पहलप्रति धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रम घार म्याग्दी पोखरा समाजका उपाध्यक्ष गोकर्ण बरुवालको अध्यक्षतामा र घार गाँउका युवा समाजसेवी राजाराम बरुवालको सञ्चालनमा सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...