पोखराका राजीवद्वारा धनकुटाकी युवतीलाई इटहरीमा बलात्कार, दोस्रो मिसनमा समातिए

 

दिपक के श्रेष्ठ

पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोटका राजीव गुरुङलाई बलात्कारको अभियोगमा इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ ।

३९ वर्षीय गुरुङले सामाजिक सञ्जालमा चिनजान भएकी धनकुटाकी एक २४ वर्षीया  युवतिलाई बिहे गर्ने भनि माघ २५ गते इटहरी बोलाएका थिए । उनीहरु २७ गतेसम्म सँगै रहेपनि त्यसदिन बिहान युवति नुहाउन बाथरुम छिरेपछि गुरुङले उनको गरगहना र नगद लिएर फरार भएका थिए ।

महिला आफु ठगिएको र लुटिएको चाल पाएपछि उनले इप्रकामा उजुरी गरेकी थिइन् । युवतिका अनुसार गुरुङले उनको ८ आना सुनका गहना र २८ हजार रुपैयाँ लिएर भागेका थिए । सूचना पाएलगत्तै खोजी गरेपनि प्रहरीले गुरुङलाई फेला पार्न सकेन ।

उक्त घटना घटेको १५ दिनपछि प्रहरीले गुरुङबारे विशेष सूचना पायो । जसअनुसार गुरुङ झापाकी एक महिलालाई भेट्न हवाइजहाजमार्फत काठमाण्डौंबाट विराटनगर आइपुगेका थिए । त्यहाँबाट झापा जानेक्रममा उनलाई प्रहरीले इटहरीबाटै पक्रन सफल भयो । इप्रकाका प्रहरी निरीक्षक केशव कटवालको नेतृत्वमा उनी पक्राउ परेका हुन् ।

‘गुरुङ फरार भएदेखि हामी उसको खोजी गरिरहेका थियौं’ निरीक्षक कटवालले भने ‘सर्चकैक्रममा राजीव विराटनगर ओर्लिएको खबर पाएपछि इटहरीमा ट्रयापमा पारेका हौं ।’ इटहरीको घटनामा परेको उजुरीपछि खोजीमा लागेकोबेला उनी झन् अर्काे घटना घटाउन हिँडेको पत्ता लागेको उनले जनाए ।

‘पहिलो काम सफल भएपछि हौसिएर अर्काे मिसन पुरा गर्न झापा आउनेक्रममा राजीव समातिए’ कटवालले भने । कटवालका अनुसार गुरुङले बलात्कार गरेको स्वीकारेका छन् । त्यस्तै, गुरुङबाट युवतीका केही गहनासमेत बरामद भएको छ । गुरुङको साथमा रहेको सवारी चालक अनुमतिपत्रको आधारमा उनको ठेगाना पहिचान गरिएको उनले बताए ।

हाल गुरुङउपर जबर्जस्ती करणी अभियाेगमा मुद्दा चलाइएकाे छ भने थप अनुसन्धान गर्न इप्रकाले सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद लिएकाे छ ।

कमेन्टहरु
Loading...