ब्यास गुफा र तनहुँसुरलाई जोड्न हाफ म्याराथन

तनहुँ । ४ वर्षदेखि अल्ट्रा म्याराथन गर्दै आएको तनहुँको ब्यास नगरपालिकाले पहिलोपटक महिला हाफ म्याराथन गर्ने भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नगरपालिकाले फागुन २४ गते हाफ म्याराथन गर्न लागेको हो ।

ब्यास नगर अल्ट्रा म्याराथनको सफलताका कारण साहसिक पर्यटकीय खेलको रुपमा रहेको दौड प्रतियोगितामा महिला सहभागिताको महत्वलाई महसुस गरी धार्मिक पर्यटकीयस्थल ब्यास नगरपालिका–३ ब्यास गुफादेखि ऐतिहासिकस्थल ब्यास नगरपालिका–११ तनहुँसुरसम्म म्याराथन गर्न लागिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिएका छन् । ‘धार्मिकरुपमा परिचित ब्यास गुफा र ऐतिहासिकस्थलको रुपमा परिचित तनहुँसुरलाई खेलको माध्यमबाट जोड्ने उद्देश्यसहित म्याराथन गर्न लागेका हौं ।’ उनले भने ।

गत वर्ष तय गरिएको महिला म्याराथन कोभिडका कारण स्थगित भएको थियो । खुल्ला हाफ म्याराथनमा प्रथम हुनेलाई ४१ हजार ७७, द्वितीय हुनेलाई ३१ हजार ७७, तृतीय हुनेलाई २१ हजार ७७ र सान्त्वना हुने ५ जनालाई ११ हजार ७७ प्रदान गरिनेछ ।

हाफ म्याराथन ब्यास गुफादेखि सफा सडक हुँदै ट्राफिक चोक, भोर्लेटार चोक, पृथ्वी राजमार्गको तालघरे, मुसेखोला, घाँसीकुवा, पराशर मार्गको सेरा, बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गंगलथोक, पत्यारथोक, चण्डीथान, गद्दीचौतारा हुँदै ब्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा पुगेर टुंगिनेछ । उक्त दूरी २१ किमिको रहनेछ ।

म्याराथन रुटमा खेलाडीबाट नियमसम्मत रुपमा दौड सम्पन्न गर्नका लागि विभिन्न ५ स्थानमा चेकपोइन्टको व्यवस्था गरिएको छ । चेकपोइन्टमा धावकले दौडको नियम पालना गरे नगरेको निरीक्षण गरिने छ भने धावकका लागि पानी, चकलेट साथसाथै स्वास्थ्यसँग सम्बन्धित आवश्यक सम्पूर्ण सामग्री सम्बन्धित वडामा टोल विकास संस्थाको सहभागितामा राखिने छ । नगरउपप्रमुख मीरा जोशीका अनुसार घाँसीकुवा, बेलटारी, अर्चलचौर, धरमपानी र तनहुँसुर दरबारमा चेकपोइन्ट रहनेछ ।

म्याराथनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि नगर प्रमुखको संयोजकत्वमा नगरसभा सदस्य रहने गरी मूल आयोजक समिति गठन गरिएको छ । जसअन्तर्गत विभिन्न ९ वटा उपसमिति गठन गरिएको छ । ब्यास नगरपालिकाले मानुङकोटदेखि पुलिमराङसम्म ४४ किमी दूरीको अल्ट्रा म्याराथन प्रतियोगिता हरेक वर्ष शहीद दिवसको दिन गर्दै आइरहेको छ ।

सीपमूलक तालिम

तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित समुदायलाई सीपमूलक तालिम दिन थालिएको छ । भीमाद नगरपालिका–५ स्थित तनहुँ जलविद्युत् आयोजनाको सार्वजनिक सूचना केन्द्र कार्यालयको आयोजनामा प्रभावित समुदायलाई सिलाइकटाइ तालिम दिन थालिएको हो ।

तालिमको संयोजन तनहुुँ प्राविधिक शिक्षालयले गरेको छ । तनहुँ जलविद्युत् आयोजनाका निर्देशक मोतीलाल महतराले आयोजना निर्माणका क्रममा प्रभावित क्षेत्रका समुदायलाई जीविकोपार्जनका लागि तालिम दिइएको बताएका छन् । उनले सीप सिकाइ अभ्यासमा आधारित भएका कारण प्रशिक्षार्थीले अभ्यासमा ध्यान दिनुपर्ने बताएका हुन् ।

तनहुँ जलविद्युत् आयोजनाका प्रतिनिधि भोला शर्माले आयोजनाले प्रभाव पारेको ब्यास नगरपालिका, भीमाद नगरपालिका ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाका एक हजारलाई सीपमूलक तालिम दिइने बताए ।

तनहुँ हाइड्रोपावर इएसएमएसपिका लाइभ्लीहुड एण्ड टे«निङ डेभलपमेन्ट स्पेसिलिष्ट दीपेन्द्रराज शाहीका अनुसार तालिममा भीमाद नगरपालिका–५, म्याग्दे गाउँपालिका–५ र ऋषिङ गाउँपालिका–५ का २० को सहभागिता छ । तालिम ६५ दिनसम्म सञ्चालन हुनेछ ।

शाहीका अनुसार प्रभावित समुदायको आवश्यकता र मागलाई ध्यानमा राखेर तालिम प्रदान गरिनेछ । आयोजना निर्माणका क्रममा ५ सय ६३ घरपरिवारको जग्गा र ७९ घर प्रभावित हुने हाइड्रोपावरका जनसम्पर्क अधिकृत उत्तमराज न्यौपानेले बताएका छन् ।

आयोजनाले तटबन्धन गर्ने

तनहुँ जलविद्युत् आयोजनाले ब्यास नगरपालिका–१३ को बेलवास क्षेत्रमा तटबन्धन गर्ने भएको छ । केही दिनअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीको उपस्थितिमा तनहुँ जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक प्रदीपकुमार थिकेले बेलवासतर्फ तटबन्धन गर्ने प्रतिबद्धता जनाएका थिए । उनले बेलवासतर्फ तटबन्धन नगरिकन तत्कालका लागि माटो ननिकाल्ने प्रतिबद्धता जनाएका छन् । आयोजना निर्माणको क्रममा निस्किएको माटो आयोजनाकै किनारमा थुपारिएको र आयोजनातर्फ मात्र तटबन्धन गरिएपछि सेती नदी साँघुरिएर बेलवास डुबानमा पर्न सक्ने अवस्थाको कारण बेलवासवासी आन्दोलित थिए ।

आन्दोलनरत बेलवासवासीलाई विघटित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले समर्थन गरेका थिए । श्रेष्ठको नेतृत्वमा मन्त्रालयमा भएको छलफलमा बेलवासवासी र तनहुँ जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशकबीच उक्त सहमति भएको हो । तनहुँ जलविद्युत् आयोजनाले आयोजनातर्फको आफ्नो जमिन संरक्षणका लागि भन्दै सेती किनारमा निर्माण गर्न लागेको तटबन्ध गर्दै माटो पनि खसालेको छ ।

ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन रहेको १ सय ४० मेगावाट क्षमताको आयोजनाको प्याकेज एकका लागि निर्माण कम्पनीसँग सम्झौताको तयारी गरिएको छ । पहिलो प्याकेजअन्तर्गतका कामका लागि ३ वटा कम्पनीको बोलपत्र परेकामा एशियाली विकास बैंकले सोध्दा भियतनाम/कालिका जेभीलाई छनोटको स्वीकृति दिएपछि कम्पनीसँग सम्झौताको तयारी गरिएको आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिएका छन् । उनका अनुसार फागुन दोस्रो हप्ताभित्र पहिलो प्याकेजको काम अगाडि बढाउन निर्माण कम्पनीसँग सम्झौता गर्ने तयारी छ । उक्त कम्पनीले पहिलो प्याकेजका लागि १६ अर्ब ६८ करोडमा ठेक्का प्राप्त गरेको छ ।

पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम/कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेजअन्तर्गत १ सय ४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने २ वटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गरिनेछ । कम्पनीले यस अगाडि पहिलो प्याकेजका लागि सिएमसीसँग ठेक्का रद्द गरेर पुनः बोलपत्र आह्वान गरेको थियो ।

आयोजनाको प्याकेज २ अन्तर्गत भने करिब १ अर्ब खर्च भइसकेको छ । प्याकेज दुईअन्तर्गत सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले काम गरिरहेको छ । प्याकेज दुईअन्तर्गत सिनोले सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । त्यस्तै प्याकेज ३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि ३ करोड खर्च भएको छ ।

प्रसारण लाइन निर्माणका लागि भारतको केइसी इन्टरनेसनल लिमिटेडले ठेक्का पाएको छ । आयोजनाले प्रसारण लाइन निर्माणका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले त्यसको प्रक्रियालाई समेत अगाडि बढाइसकेको छ ।

टावर राख्नका लागि ५३ व्यक्तिको जग्गा अधिग्रहण गर्नुपर्नेछ । आयोजनाको प्रसारण लाइन निर्माणका क्रममा टावर राख्नका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गरिनेछ भने तार तान्न २१ हेक्टर क्षेत्रफललाई क्षतिपूर्ति दिइनेछ ।

प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनतर्फका वन क्षेत्रमा पर्ने रुख कटान हुनेछन् । तनहुँतर्फ ३० हेक्टर वन क्षेत्रको रुख कटान गर्नुपर्ने र त्यसका लागि फाइल वन विभागमा पठाइएको छ । दमौलीदेखि भरतपुरसम्म २ सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । चालु आर्थिक वर्षमा प्रसारण लाइनका लागि ३० वटा टावर निर्माण गरिनेछ ।

आयोजनाको प्याकेज २ अन्तर्गतको विद्युत् गृहको काम पनि भइरहेको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको ‘केवल टनेल’ को काम पूरा भएसँगै विद्युत्गृहको काम भइरहेको छ ।

आयोजनाका लागि १ सय ४० मिटर बाँध, १ हजार १ सय ६२ मिटर र ७४ मिटर को मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगृत विद्यृत गृह निर्माण गरिनेछ ।

खुद उचाइ १ सय २१ मिटर रहने आयोजनाबाट सुक्खायाम १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ । आयोजनाको कूल लागत ५ सय ५ मिलियन अमेरिकी डलर (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) रहेको छ । जाइकाले दोस्रो प्याकेजअन्तर्गतका कामका लागि १ सय ८४ मिलियन डलर बेहोर्ने छ । रासस

कमेन्टहरु
Loading...