दोस्रो राष्ट्रिय मगर महोत्सव शनिबारदेखि

पर्वत । यही फागुन १५ देखि २५ गतेसम्म आयोजना हुने दोस्रो राष्ट्रिय मगर महोत्सवको तयारी पूरा भएको छ । मगर संग्रहालय बनाउन पुन युवा क्लबले ३९ औं मगर दिवसका अवसरमा अगामी शनिबारदेखि सो महोत्सव आयोजना गर्न लागेको हो । प्रदर्शनी कक्ष, खेलकुदको मैदान र मञ्च निर्माण लगभग पूरा भएको आयोजकले जनाइएका छन् । क्लबका अध्यक्ष कृष्ण पुनले महोत्सवमा २ सय प्रदर्शनी कक्ष बुकिङ भएको पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । खुला पुरुष भलिबलमा १० देखि १२ टोली आउने अनुमान गरिएको उनले बताए । मगरहरुको सांस्कृतिक नृत्यका ४ टोली र विद्यालयस्तरीय प्रतियोगितामा १० टोली सहभागिताका लागि दर्ता भएको उनले जानकारी दिएका छन् ।

कार्यक्रमस्थलमा सुरक्षाका लागि ८ वटा सिसी क्यामेरा जडान गरिएको छ । कोभिडका कारण मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । महोत्सवस्थलमा हातधुन पानी र साबुनको व्यवस्था गरिने भएको छ । महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई ८० को टिकट काट्नुपर्ने भएको छ । यस्तै बाल उद्यान, रमाइलो खेलसहित अन्य रोचक कार्यक्रम पनि सञ्चालन हुने भएका छन् ।

राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति महोत्सवका आकर्षण हुन् । स्थानीय खानाका परिकार खुवाउने गरी खानाको प्रदर्शनी कक्षसमेत आयोजकले राख्ने भएको छ । महोत्सवमा भीडभीड हुने भएकाले अलग्गै पार्किङ व्यवस्थापन हुने भएको छ । स्थानीय उत्पादनको बिक्री वितरण, प्रवद्र्धन र प्रचारप्रसारमा पनि मगर महोत्सव सफल हुने बताइएको छ ।

बारीबेनी–बगर–बाँसखर्क सडक कालोपत्रे

पश्चिम क्षेत्रमा नै सबैभन्दा स्वादिलो सुन्तला फल्ने पर्वतको बाँसखर्क जोड्ने बारीबेनी–बगर–बाँसखर्क सडक कालोपत्रेका लागि रु सात करोड विनियोजन भएको छ । जलजला गाउँपालिका–२ बारीबेनीदेखि वडा नं १ बाँसखर्क जोड्ने सडक कालोपत्रे गर्नका लागि अर्थमन्त्रालयमा पुगे पनि बजेटको सुनिश्चितता नभएका कारण बोलपत्र प्रक्रियामा जान सकेको थिएन ।

कालोपत्रे गर्नका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भइसकेको थियो भने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना स्वीकृत गरेर सो मन्त्रालयमा पठाएको थियो । १० किलोमिटर लामो यो सडकको कूल लागत लगभग २२ करोड छ । यस वर्ष ७ करोड विनियोजन भएपछि झण्डै ७ किलोमिटर कालोपत्रे हुने भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण भूकम्प आपत्कालीन सहायता आयोजनाले उक्त सडक कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढाएको थियो । गत वर्ष पनि प्राधिकरणले डिपिआर स्वीकृत गरी आयोजना अघि बढाउन अर्थमन्त्रालयसँंग सहमति मागेको थियो । मन्त्रालयले स्वीकृत नदिएका कारण बोलपत्र आह्वान हुन सकेको थिएन । अहिले बाँसखर्कसम्म पुग्न बारीबेनी र मिलनचोकबाट कच्ची सडकको सुविधा छ ।

यहाँ बर्सेनी फल्ने करोडौंका सुन्तला सडककै कारण ढुवानीमा समस्या छ । सडक निर्माण भएमा यहाँ उत्पादन हुने सुन्तला बजार पठाउन तथा बाँसखर्कमा सञ्चालित घरवास प्रवद्र्धन गर्न सबैभन्दा ठूलो भूमिका खेल्ने जलजला–१ का वडाध्यक्ष तुलसी रेग्मीले बताए । बासखर्कमा वार्षिक ३ देखि ५ करोडका सुन्तला उत्पादन हुने गरेको उनले जानकारी दिएका छन् ।

बिहादी औद्योगिक ग्राममा ५८ लाखका संरचना

‘१ पालिका १ औद्योगिक ग्राम’ कार्यक्रमअन्तर्गत बिहादी गाउँपालिकामा निर्माण भएकामा औद्योगिक ग्रामको पहिलो चरणका काम सम्पन्न भएका छन् । कार्यक्रमअन्तर्गत बिहादीमा औद्योगिक ग्राम निर्माणको काम अगाडि बढाएको हो । संघ र प्रदेश सरकारको सहलगानीमा गत वर्षदेखि औद्योगिक ग्राम स्थापनाको काम सुरु भएको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालका अनुसार संघीय सरकारबाट प्राप्त भएको बजेटबाट अहिलेसम्म ५८ लाख खर्चिएर विभिन्न संरचना निर्माण भइसकेका छन् । पूर्वाधार निर्माणअन्तर्गत जग्गा सम्माउने, तारबार लगाउने, विद्युत् जडान, सडक निर्माण, पानीको व्यवस्थापन, सुरक्षा पर्खाल निर्माण, ढल निकासलगायतका काम सम्पन्न भएको उनले बताए । औद्योगिक ग्राममा संघ सरकारबाट बाट रकम प्राप्त भएर पूर्वाधार निर्माणको काम भएको र प्रदेश सरकारबाट हालै ३० लाख प्राप्त भएको उनले जानकारी दिएका छन् ।

प्रदेश सरकारले उपलब्ध गराएको रकमबाट थप काम गर्न बोलपत्र आह्वान गर्ने तयारी रहेको छ । औद्योगिक ग्राममा स्थानीय स्तरका घरेलु तथा साना उद्योग स्थापना गर्ने लक्ष्य रहेको छ । फर्निचर उद्योग, कुटानीपिसानी मिल निर्माण, सलाइका काँटी बनाउने, अगरबत्ती उद्योग तथा स्थानीय कच्चा पदार्थमार्फत बन्ने बस्तु उत्पादन हुने उद्योग स्थापना गर्ने तयारी भएको छ । प्रदेश सरकारबाट प्राप्त बजेटले प्रदर्शनी हल निर्माण गर्ने र त्यसैमा साना तथा घरेलु उद्योग निर्माण हुने गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले जानकारी दिएका छन् ।

औद्योगिक ग्रामलाई बृहत्तररुपमा सञ्चालन गर्न गाउँपालिकाले अर्थ मन्त्रालयमा बजेटको माग गरेको पनि प्रशासकीय अधिकृत भुसालले बताए । मन्त्रालयमा रु २८ करोडको डिपिआर तयार पारेर पेश गरिएको उनले बताए ।

सरकारलाई बहुवर्षे पूर्वाधार विकासको रुपमा बिहादीको औद्योगिक ग्रामलाई समावेश गर्न प्रस्ताव गरिएको उनले जानकारी दिएका छन् । बिहादीसँगै फलेवास, कुश्मा र जलजलामामा पहिलो चरणमा औद्योगिक ग्राम स्थापना गर्न थालिएको छ । कुश्मा नगरपालिका–१ पाङ, जलजला गाउँपालिका–३ माझफाँट र फलेवासको देवीस्थानमा औद्योगिक ग्राम स्थापना गर्ने तयारी भइरहेको छ । रासस

कमेन्टहरु
Loading...