ताल जाेगाउने नाममा धमाधम खाल्डाे खन्दै ‘गेको’, तर वास्तविकता फरक

गन्थन डेस्क

लेकसाइड बंगलादीमा आकर्षक रेष्टुरेन्ट छ, क्रेजी गेको बार एण्ड रेष्ट्रो । छोटकरीमा ‘गेको’ भनिने गरिन्छ । जहाँबाट बैदामको हल्लनचोक टुंगिएर वडा नम्बर १८ सुरु हुन्छ ।

ताल किनामार रहेको गेको स्वदेशी र विदेशी सबैको रोजाइमा पर्छ । गेकोले खासै ‘अफसिजन’ झेल्नु पर्दैन । हाल फेवाको बाँध मर्मत गर्न पानी सुकाइएपछि तालको सतह घटेर अलि परै पुग्यो । यही मेसोमा गेकोले धमाधम ताल किनारको माटो झिक्दैछ ।

घरको जग खन्ने शैलीमा केही दिन यता रेष्टुरेन्टका संचालक जिबी शेरचन कामदारसहित आफै कस्सिएर किनारको माटो झिक्दै रेष्टुरेन्टको पर्खालतिर फाल्दैछन् । बिहीबार दिउँसो त्यहाँ पुग्दा गेकोको किनार निर्माणाधीन स्विमिङ पुलजस्तो देखिन्थ्यो ।

‘धमाधम के गर्दै हुनुहुन्छ ?’ शेरचनको जवाफ छ, ‘ताल सुकेकोबेला माटो झिकेर गहिराई बढाएको ।’ रेष्टुरेन्टको पर्खालसम्मै तालको गहिराई बढाउँदा के होला ? भन्ने प्रश्नमा उनले तालको गहिराई बढ्दा थप संरक्षण हुने बताए । ताल संरक्षणकै चिन्ताले धमाधम माटो झिकेको भन्ने उनको भनाई वास्तविक होइन ।

 

 

केही दिन अघि फुटट्रयाक बनाउन पोखरा महानरले मूल सडकबाट डोजर लगाएर ताल किनारसम्म बाटो खोलेपछि उनी रुष्ट भएका हुन् । फुटट्रयाक बन्दा रेष्टुरेन्टलाई असर पर्ने चाल पाएर शेरचनले पर्खालसम्म गहि¥याउन माटो झिकेका हुन् ।

माटो झिकेर ताल गहिरो भएपछि त्यहाँ फुटट्रयाक बनाउन कठिन हुने र रेष्टुरेन्ट अन्य क्षेत्रबाट ‘डिस्टर्ब’ नहुने उनको सोचाई छ । हाल गेको पुग्ने प्रायः सबैको रोजाई त्यहाँ रहेको पिङमा रमाउनु र फोटो खिच्नु हो । फुटट्रयाक बने पिङ झिक्नु पर्छ ।

 

 

स्थानीय निकायबाट स्वीकृति लिएर माटो झिक्दै गहि¥याउन लाग्नु भएको हो र ? भनि सोध्दा शेरचनले राम्रो काम गर्न कसैको स्वीकृति आवश्यक नरहेको प्रतिक्रिया दिए । ‘मैले ताल संरक्षण गर्दैछु, सरकारलाई सहयोग पुग्ने काममा कसैलाई सोधिराख्न पर्दैन’ उनको जवाफ छ । ‘आफुखुशी काम गर्न त मिलेन नी ?’ भनि सोध्दा उनले जवाफ दिन आवश्यक ठानेन् ।

 

 

यही विषयमा वडा अध्यक्ष रणबहादुर थापासँग सोध्दा उनले त्यस्तो कार्य मनपरी भएको भन्दै स्थानीय निकायलाई जानकारी गराउनु पर्ने बताए । बिनाजानकारी र आफुखुशी केही गर्न नमिल्ने भन्दै उनले तुरुन्त नगर प्रहरी पठाएर काम रोक्ने बताए ।

‘कतिखेर पुग्छ नगर प्रहरी ?’ भन्ने प्रश्नमा उनले ‘तुरुन्तै’ भन्ने उत्तर दिए । तर २ घण्टा बितिसक्दा पनि उनले प्रहरी पठाएका छैनन् भने उता शेरचनले धमाधम ताल किनामा खाल्डो बढाइरहेका छन् । अझै पनि नगर प्रहरी नपुगेकोबारे पुनः जानकारी गराउँदा वडाध्यक्ष थापाले ‘प्रहरी गइहाल्ने’ र ‘प्रहरी हिँडेपछि आफै खबर गर्ने’ जानकारी दिए ।

 

कमेन्टहरु
Loading...