कर्णाली । सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशका अनुसार सुरक्षित गर्भपतन गराउने महिलामध्ये बर्सेनि १० देखि २० प्रतिशतसम्म किशोरी छन् । आर्थिक वर्ष २०७४ कात्तिकदेखि २०७५ असोजसम्म कर्णाली प्रदेशमा पाँच हजार ७ सय ४२ महिलाले सुरक्षित गर्भपतन सेवा लिए । तीमध्ये ७ सय ७६ जना २० वर्षभन्दा कम उमेरका थिए ।
विसं २०७५/०७६ को सोही अवधिमा पाँच हजार ७४१ मध्ये ९१२ जना किशोरी थिए । त्यस्तै २०७६ देखि २०७७ असोजसम्म सुरक्षित गर्भपतन सेवा लिनेमध्ये ५८६ जना २० वर्षभन्दा कम उमेर समूहका थिए । विसं २०७६/७७ को उक्त अवधिमा कोरोना भाइरसका कारण ‘लकडाउन’ भएपछि यो सेवा लिने महिलाको सङ्ख्यामा केही कमी देखिए पनि अघिल्ला दुई वर्ष बढ्दो दरमा रहेको पाइएको छ ।
मेरी स्टोप्स सेन्टर सुर्खेतले सुरक्षित गर्भपतन गराउन आउने महिलाहरुमा १६ देखि २४ वर्षसम्मका बढी रहेको जनाएको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी कानूनमा १८ वर्षभन्दा कम उमेरकी गर्भवती महिलाको हकमा निजको सर्वोत्तम हितलाई ध्यानमा राखी सुरक्षित गर्भपतन सेवा प्रदान गर्नुपर्ने उल्लेख छ तर सोभन्दा कम उमेर समूहका गर्भवती महिलाले गर्भनिरोधक अस्थायी साधन प्रयोग गर्नुको साटो गर्भपतनलाई जोड दिँदा उनीहरुको शारिरीक तथा मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पर्न सक्ने स्वास्थ्यकर्मी बताउँछन् ।
कानूनमा गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भलाई सुरक्षित गर्भपतन गराउन सक्ने उल्लेख छ । त्यस्तै गर्भपतन नगराएमा महिलाको ज्यान खतरामा पुग्न सक्छ वा विकलाङ्ग बच्चा जन्मन सक्छ भनी इजाजतप्राप्त चिकित्सकले राय दिएमा, जबर्जस्ती करणी वा हाडनाता करणीमा रहन गएको गर्भ, रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एचआइभी) वा त्यस्तै प्रकृतिको निको नहुने रोग लागेको महिलाको गर्भ, गर्भमै भ्रूण नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भ्रूणमा खराबी रहेको, वंशाणुगत खराबी वा अन्य कारणले भ्रूणमा अशक्तता हुने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकको रायबमोजिम गर्भवतीको मञ्जुरीमा २८ हप्तासम्मको गर्भपतन गराउन सक्ने व्यवस्था छ ।