म्यानमारमा ‘कू विरुद्धको प्रदर्शनमा गोली लागेर दूई जनाको मृत्यु

काठमाडौं । म्यानमारमा सैन्य कू विरुद्ध प्रदर्शन गर्नेहरुमध्ये कम्तीमा दुईजनाको मृत्यु भएको छ। शनिबार प्रदर्शनकारीमाथि सुरक्षाकर्मीको ज्यादतीका कारण कम्तीमा दुई प्रदर्शनकारीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीको गोली लागेर मृत्यु हुनेमा ३६ वर्षका पुरुष र १८ वर्षमुनिका अर्का एक किशोर रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

म्यानमारमा पछिल्लो दुई हप्तादेखि सैनिक शासनक विरुद्ध प्रदर्शन हुँदै आएको छ । प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न गोलाबारुदको प्रयोग गरेको छ । कम्तीमा २० जना घाइते भएको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

फेब्रुअरी १ मा सेनाले निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएको थियो । सेनाले सत्ता हत्याएसँगै सर्वसाधारण, पेशाकर्मी तथा भिक्षुहरु पनि प्रदर्शनमा उत्रिएका छन् । दबाबमा आएको सैनिक नेतृत्वले पछिल्ला दिनमा प्रदर्शनकारीमाथि बल प्रयोग गर्दै आएको छ ।

यसअघि गएको शुक्रबार एक महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । ९ फेब्रुअरीमा टाउकोमा प्रहरीको गोली लागेकी ती महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

कमेन्टहरु
Loading...