लमजुङ संवादाता ।
कृषिमा यन्त्रिकरण गरि लागत घटाउन र कृषि क्षेत्रलाई प्रबिधिमैत्री बनाउन बेसीशहर नगरपालिकाले ९० जना किसानलाई हाते ट्याक्टर वितरण गरेको छ ।
नगर प्रमुख गुमानसिंह अर्यालका अनुसार पछिल्लो समय गोरु पाउन गाह्रो, युवापुस्ता वैदेसिक रोजगारमा रहेकाले खेतालाको अभाव लगायतका समस्याले खेतियोग्य धेरैजसो जमिन बाँझो रहेकाले हाते ट्याक्टर वितरण गरिएको हो ।
बैदेशिक रोजगारको सिलसिलामा विदेश पलायन भएर गाउँ फर्किएका युवालाई स्वरोजगार बनाउने र जनशक्तिको अभावमा बाँझो रहेका जमिनलाई पुनःप्रयोगमा ल्याउन हातेट्याक्टर प्रभावकारी भएकाले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर दिइएको नगरप्रमुख अर्यालले बताए ।
२५ लाख २० हजार रकम बराबरको ट्याक्टर खरिद गरि किसानलाई वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख सूर्यप्रसाद सेढाईले बताए ।
उनका अनुसार नगरपालिकाले यसवर्ष ७ हर्सपावर डिजेल वाला, ७ हर्स पावर पेट्रोल वाला र ६ हर्सवापरको गरि ३ प्रकारको ट्याक्टर वितरण गरेको छ ।
५० हजार मुल्य पर्नेमा ५० प्रतिशत अनुदान २५ हजार किसानको २५ हजार नगरपालिकाको, ६० हजार र ७० हजार पर्नेमा २८ हजार नगरपालिकाको र बाँकी किसानको गरि वितरण गरिएको हो ।
बेसीशहर नगरपालिकाले कृषिमा उत्पादन बढाउने उद्धेश्यका साथ प्रत्येक वर्ष हाते ट्याक्टर वितरणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दै आएको छ ।
गत वर्षमा वितरण गरिएको हाते ट्क्याटर प्रभावकारी भएपछि चालु आर्थिक वर्षमा पनि निरन्तरता दिएको उपप्रमुख लक्ष्मीदेवी अधिकारीले बताइन् ।
नगरपालिकामा हाते ट्याक्टरको लागि ३ सय जना किसानको आवेदन परेकोमा ९० किसानलाई विरतण गरिएको गरिएको हो ।
नगरपालिकाले हाते ट्याक्टरको वितरण सँगै भाडामा एकरुपता ल्याउन हाते ट्याक्टरको भाडा प्रतिघण्टा ७ सय तोकेको छ ।