बस्ती जोगाउन तनहुँ जलविद्युत आयोजनाले तटबन्ध लगाउने

तनहुँ संवादाता ।

निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाले बेलबासतर्फको सेती नदिको किनारामा तटवन्ध लगाउने भएको छ ।

आयोजनाले आफ्नो क्षेत्रतर्फको सेतीको किनारामा मात्रै तटवन्ध लगाएको थियो । एकातर्फको छेउमा मात्रै तटवन्ध लगाउँदा नदि साँघुरिएर अर्कोतर्फ रहेको बेलबास क्षेत्र डुवानमा पर्ने भन्दै स्थानीयले आयोजनालाई दुवैतर्फ तटवन्ध लगाउन आग्रह गरेपछि आयोजना तटबन्ध लगाउन सहमत भएको हो ।

उर्जामन्त्री टोपबहादुर रायमाझीसहित आयोजनाका प्रतिनिधि र स्थानीयबीच बुधबार मन्त्रालयमा भएको छलफलमा सेतीको दुवै किनारामा तटबन्ध लगाउने सहमति भएको आयोजनाका प्रवन्ध संचालक प्रदीप थिकेले जानकारी दिए ।

‘बेलबासतर्फका स्थानीयले जोखिम बढ्यो भन्दै त्यसको संरक्षण गर्न तटवन्ध निर्माण गर्न माग गरेपछि आयोजना तटवन्ध लगाउन सहमत भएको हो,’ उनले भने ।

आयोजनातर्फ पर्ने सेती नदि किनारको भागमा ग्याभिन तथा वाल निर्माण गरिएको भएपनि वस्तीतर्फ नगरिदिँदा स्थानीयले असन्तुस्टी जनाएका थिए । यो वर्ष जति सकिन्छ त्यति काम गर्ने र बाँकी रहेको काम भने अर्को वर्ष सम्पन्न गर्ने आयोजनाले जनाएको छ ।

आयोजना निर्माणको क्रममा निस्किएको माटो आयोजनाकै किनारमा मात्रै थुपारिएको थियो जसले गर्दा सेती नदि साँघुरिएर बस्ती नै डुवानमा पर्ने भन्दै स्थानीयले असन्तुस्टि जनाएका थिए । आयोजनाले नदि किनारमा तटवन्ध लगाउन सहमत भएपछि त्यस क्षेत्रका स्थानीय खुशी भएका छन् ।

कमेन्टहरु
Loading...