पिडितको साझा माइतीघर

समुन्द्र पौडेल/मोरङ घर भएकी उर्मिला (नाम परिवर्तन)ले तनहुँ मनपाङका प्रकाश वि.कसंग विवाह गरिन् । २०६७ मंसिर ४ गते विवाह बन्धनमा बाधिएकी उर्मिला त्यस यता सधै यातनाको सिकार बन्नु परेको छ । अन्तरजातीय विवाह गरेकोमा घरपक्षले श्रीमान्लाई लुकाउने र उर्मिलालाई धम्क्याउने गरे । ६ महिनाको काखे छोरी संगै न्यायका लागि ढोका ढकढक्याउँदै एक वर्ष अघि मानाचामलका लागि कानुनी उपचार खोज्दै हिडेकी उर्मिलाको लडाई अझै सकिएको छैन, तर अहिले बाटो केही बढ्लिएको छ ।violence-against-woman

‘मुद्दा विचारधिन रहेकाले आफू र छोरीको लागि जीवन निर्वाह गर्न कठिन भयो,’ उनले भनिन, ‘अहिले म जीवन गुजाराका लागि आफै श्रम गर्दै आएकीछु ।’ ऋण खोजेर ढाका बुन्ने तान खरिद गरेकी उर्मिलाले अहिले ढाकाका कपडा बनाएर व्यापार गर्छिन् । डेढ वर्ष उमेरको छोरीलाई पाल्ने जोहो गरेकी उनलाई कानुनी सहायता र संरक्षण दिएको छ, जिल्ला स्तरीय सामुदायिक सेवा केन्द्रले ।

श्रीमान्को नाम कायम गरेर नागरिकताको प्रमाण पत्र नपाएकी उर्मिलालाई अन्तत सेवा केन्द्रकै पहलमा जिल्ला प्रशासन कार्यालय तनहुँले नागरिकताको प्रमाण पत्र प्रदान ग¥यो । छोरीको पनि जन्म दर्ता भयो । कानुनी लडाईमा उत्रिएकी उर्मिलालाई अहिले पनि परिवारले डर, त्रास र धम्क्याउने गरेको छ । झण्डै ६ महिना सेवा केन्द्रमै बसेकी उर्मिला अहिले व्यास २ अमरापुरीमा कोठा लिएर बसेकी छिन् । ‘यो त मेरो माइती घर हो, ’ सेवा केन्द्रमा भेटिएकी उर्मिलाले भनिन, ‘दुःख साह्रो पर्दा गुहार माग्न यही आउने गरेकी छु ।’ उर्मिला मात्र होइनन्, गाउँबाट सानोतिनो व्यापार गर्न २०६२ सालमा बरभन्ज्याङबाट सदरमुकाम दमौली झरेकी फूलमाया (नाम परिर्वतन गरिएकी) को पनि माइती घर भएको छ ।

पसलमा चिनजान भएका इन्द्र बहादुर श्रेष्ठले श्रीमती बनाउने प्रलोभनमा पारेर फूलमायाको अस्तित्व लुट्यो । २०६३ सालदेखी शुरु भएको फूलमाया र इन्द्र बहादुर बिचको शारिरीक सम्बन्ध २०६९ मंसिरदेखी टुटेको छ । फूलमायाको पेटमा गर्भ बस्दा समेत इन्द्र बहादुरले प्रलोभनमै औषधी खुवाएर ‘२०६५ सालमा उसकी श्रीमती घरमै आएर मलाई कुटपीट गरेपछि बल्ल उ विवाहित भएको थाहा पाए,’ फूलमायाले भनिन,‘त्यसपछि पनि विवाहको प्रलोभनमा उसले ललाई फकाई मसंग सम्बन्ध कायमै राख्यो ।’

सधै विवाहका प्रस्ताव टार्न थालेपछि फूलमाया कानुनी उपचारका लागि अघि बढिन् । उनको पनि मानाचामलसंगै अंश र जालसाझी सम्बन्धी मुद्दा तनहुँ जिल्ला अदालतमा अझै विचाराधिन छ । आफूले कहिले न्याय पाउला भन्दा पनि फूलमायालाई अहिले श्रीमान्ले हालेको गाली बेइज्जतीको मुद्दाको पिरलो छ । ‘म राम्रोसंग त बोल्न नजान्ने मान्छेलाई गाली बेइजतीको मुद्दा हालेको छ,’ फूलमायाले भनिन, ‘खै न्याय ? ’‘पत्नी धेरै हुन्छन्, तर म तिमीलाई धर्मपत्नी बनाउँछु’ इन्द्र बहादुरका यी बाक्य अहिले फूलमायालाई अभिशाप भएको छ । ‘मैले न्यायका लागि धेरै कष्ट गरे,’ उनले भनिन, ‘अहिले कानुनी लडाईका लागि साथ पनि पाएको छु ।’

फुर्सदको समय मिल्नासाथ फूलमाया सेवा केन्द्रमा भेटिन्छिन् । ‘सेवा केन्द्रमा म जस्ता थुपै महिलाको समस्या र बेदनाका घटना आउँछन्,’ उनले भनिन, ‘त्यसैले यहाँ बस्दा धेरै कानुनी कुरा जानिदो रहेछ ।’ २०६६ चैत्रबाट शुरु भएको जिल्ला स्तरीय सामुदायिक सेवा केन्द्रमा घरेलु हिंसामा परेका ३ सय २४ महिलालाई कानुनी सहायता उपलब्ध गराएको छ । केन्द्रको सम्पर्कमा आउने अधिकांश महिलाहरु मध्ये मानसिक यातनाका घटना बढि भेटिएको केन्द्र प्रमुख सरिता शर्माले बताइन् ।

‘बढि महिला मानसिक यातनाका समस्या लिएर केन्द्रमा आउने गरेका छन्,’ उनले भनिन, ‘केन्द्रबाट आवास सहित आवश्यक कानुनी सहयोग उपलब्ध गराउँछौ ।’ सेवा केन्द्रमा दर्ता हुने मुद्दामा बहुविवाह, बेवारिसे बालबालिका, वेवारिसे महिला, जर्वजस्ती विवाह, कुटपीटका घटना उल्लेख्य छन् । दर्ता भएका ३ सय १८ मुद्दाहरु मध्ये १ सय ९४ मुद्दा फच्छ्यौट भईसकेको सेवा केन्द्रकी निवर्तमान अध्यक्ष कला पुनःले बताइन् । ‘आपत विपतमा परेका महिला र बालबालिकालाई केन्द्रले केही समयका लागि आवास सहित संरक्षणको व्यवस्था मिलाएको छ ।’ उनले भनिन, ‘तर, हाम्रो प्रमुख उद्देश्य सधै घरमै पुनस्थापनामा जोड दिनु हो ।’

दुःख, विपत र घरेलु हिंसामा परेका महिलालाई संरक्षण दिदै आएको केन्द्र महिलाहरुको साझा माइती घर बनेको उनले बताइन् । ‘घरमा बस्न नसक्ने अवस्था भएका महिला र बालबालिकाले केन्द्रबाट बास र गाँस पाएका छन्,’ उनले भनिन, ‘महिलालाई माइती बनेको केन्द्र बालबालिकालाई मावली बनेको छ ।’ मादीगंगा महिला बहुउद्देश्यीय सहकारी संस्था लि. को व्यवस्थापनमा संचालित सेवा केन्द्रका आधा दर्जन महिला महिलाका हिंसा र पीडा साट्ने साथी बनेका छन् । सबै एक भएर सक्रिय रुपमा जुटिरहेका छन् ,–सेवा केन्द्रलाई साझा माइतीघर बनाउन ।

कमेन्टहरु
Loading...