बंगलादेशबाट रासायनिक मल खरीद सुरु

काठमाडौं । बंगलादेशबाट नेपाल ल्याउन लागिएको ५० हजार मेट्रिक टन रासायनिक मल खरीद प्रक्रिया सुरुआत भएको छ । सरकार र बंगलादेश सरकार (सरकार–सरकारबीच जिटुजी) सम्झौताअनुसार मल खरीदको प्रक्रिया सुरु भएको कृषि सामग्री कम्पनीले जनाएको छ ।

यसअघिको सम्झौताअनुसार नेपालमा मल ढुवानी गर्ने कम्पनीले बंगलादेशमा मल बुज्न थालेको कृषि कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिएका छन् । ‘हामीले ढुवानीका लागि छनोट गरेको कम्पनीले आजबाट मल बुज्न थालेको जानकारी आएको छ, उताको सबै तयारी सकेर अब छिट्टै नेपालमा मल ढुवानी हुनेछ ।’ उनले भने, ‘बंगलादेशको कम्पनीले दैनिक उत्पादन गरेको मल हामीलाई दिने भनेको छ, दैनिक जति मल उत्पादन हुन्छ । हामीले छनोट गरेको कम्पनीले सोही अनुसार विभिन्न लटमा ढुवानी गर्छ ।’

ढुवानी कम्पनीले पहिलो लटमा २० हजार मेट्रिक टन रासायनिक मल ल्याउने तयारी गरेको जनाउँदै भारतीय भन्सार प्रक्रिया मिलाउने काम भइरहेको उनले जानकारी दिएका छन् । पहिलो लटमा रेलमार्ग हुँदै आउने मल कृषि सामग्री कम्पनीको विराटनगर, वीरगञ्ज र भैरहवामा रहेका गोदाममा राखिने कम्पनीले जनाएको छ । कृषि सागम्री कम्पनीले बंगलादेशबाट ल्याइने रासायनिक मल ढुवानीका लागि गत असोजमा संयुक्त अरब इमिरेट्स (युएई) को जेन्ट्रेड एफजेडएफ कम्पनीलाई जिम्मा दिइसकेको छ ।

नेपालले बंगलादेशसँग प्रतिमेट्रिक टन २५९.१९५ अमेरिकी डलरमा मल खरीदको सम्झौता गरेको थियो । बंगलादेशबाट रासायनिक मल खरीदको तयारीस्वरुप गत पुस २ गते जिटुजी प्रक्रियामार्फत मल खरीदका लागि कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो ।

सम्झौता भएको करीब २ महिनापछि बल्ल मल ढुवानीको प्रक्रिया सुरु भएको हो । कम्पनीले पहिलो लटको मल बिहीबारसम्म नेपालमा ढुवानी हुने अनुमान गरेको छ । रासस

कमेन्टहरु
Loading...