पर्वतमा दुई सडक पुल एकसाथ उद्घाटन

पर्वत । जिल्लाको रती खोला र अम्बोट खोलामा निर्माण सम्पन्न दुई पक्की पुलको एकसाथ उद्घाटन भएको छ ।

मोदी गाउँपालिकाको डिमुवा–राम्जा–चित्रे सडकमा पर्ने रतीखोला पुलको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कुश्मा नगरपालिकाको अम्बोट–दुर्लुङ सडकमा पर्ने अम्बोटखोला पुल भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले आइतबार उद्घाटन गर्नुभएको हो ।

रतिखोलामा निर्माण भएको पुल १० करोड ४५ लाख ९८ हजारको लागतमा निर्माण सम्पन्न भएको पुलको लम्बाई ७० मिटर रहेको छ । दुवैतिर १.७५ मिटरको फुटपाथ रहेको पुलले चौडाई ७.५० रहेको छ । यो पुल निर्माण भएपछि वर्षैदेखि खोलाबाट हिड्न बाध्य मोदी गाउँपालिका वडा नं ६,७ र ८ का बासिन्दा हर्षित भएका छन् ।

यो पुललाई पोखरा–बागलुङ राजमार्गको बैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिने यस पुलले मोदी गाउ चित्रे–आर्थर–कार्र्कीनेटा हुँदै पर्वतको दक्षिण तथा स्याङ्जा जिल्लासमेत पुग्न सकिन्छ । धार्मिक तथा पर्यटकीय सडकको रुपमा बिकास भईरहेको पोखरा–पामे–पन्चासे सडकलाई समेत यस पुलले जोड्ने छ ।

त्यसैगरी अम्बोट खोलामा निर्माण सम्पन्न पुलले कुश्मा नगरपालिका वडा नं ३ का साथै मोदी गाउँपालिकाको वडा नं ४ को हलहले, क्याङ तथा वडा ५ को बाजुङका स्थानीय लाभान्वित हुने भएका छन् ।

अम्बोेट खोलामा निर्मित पुलको लम्बाई २५ मिटर र चौडाई ७ दशमलब ५० मिटर रहेको छ । सिग्गल स्पान रहेको यो पुल ४ करोड १७ लाख ६२ हजार रुपैयाँ लागतमा निर्माण भएको हो ।

अम्बोट खोला पुलले दुर्लुङ बाजुङ –हलहले –क्याङ–लेस्पार सडकको कनेक्टीभिटीको रुपमा काम गर्ने स्थानीयले बताएका छन् ।

कमेन्टहरु
Loading...