फेवातालको सीमांकन कार्य सकियो, नक्सांकनमा जुट्यो समिति

पोखरा । शनिबार दिउँसो फेवाताल घुम्न गएका पर्यटक तथा सर्वसाधारण सुक्का ताल देखेर अचम्मित बने । तालको किनारमा पानी सुकेर हिलोमात्र थियो । तालको पानी छुन नसक्ने गरेर किनारबाट पर पुगेको थियो । उक्त दृश्य देख्दा पर्यटक तथा सर्वसाधारण छक्क र केही हच्किएका थिए । सामाजिक सञ्जालमा सुकेको तालको फोटो राख्दै सर्वसाधारणले विभिन्न शंका उपशंका व्यक्त गरे । फेवाताल सीमांकनको विषयमा विवाद चलिरहँदा यसरी तालको पानी सुकेको दृश्यले शंका गर्नु स्वभाविक नै थियो ।

तर तालको पानी भने बाँध तथा नहर मर्मतका लागि सुकाइएको हो । फेवातालको पानी गत शुक्रबार रातिदेखि जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीले घटाउन सुरु गरेको हो । विंस २०३५ सालमा बनेको उक्त बाँधको मर्मतसम्भार कार्यका लागि तालको सतह घटाउनु परेको डिभिजन कार्यालय कास्कीका प्रमुख किरण आचार्यले जानकारी दिएका छन् । ‘बाँध बने पश्चात् हालसम्म मर्मत कार्य नभएका कारण यति बेला ममर्त गर्न लागेका हौं ।’ उनले भने, ‘मर्मत कार्य सकिएपछि तालमा पानीको सतह पुन पहिलेको रुपमा फर्किन्छ ।’ कार्यालयका अनुसार मर्मतको अवधि १ महिना वा सो बढी हुनेछ । जुन समय अवधिभर तालको पानी यही रुपमा रहिरहनेछ ।

फेवातालको पानी करिब १ मिटरसम्म वा आवश्यक अनुरुप घटाउने कार्यालयले जनाएको छ । बाँध र नहर मर्मतका लागि सरकारले २ करोड बजेट छुट्याएको छ । जसमा १ करोड नहर मर्मत र १ करोड तालको बाँध मर्मतमा खर्च हुने छ ।

फेवातालको ४ किल्ला निर्धारण

तालको पानी अचानक घटाउँदा फेवातालको सीमांकन तथा नक्सांनमा असर पुग्छ कि भन्नेमा धेरै चासो र चिन्ता छ । यस विषयमा फेवाताल सीमांकन तथा नक्सांकन समिति संयोजक पुण्य पौडेलले यसले कुनै असर नगर्ने बताएका छन् ।

साथै पौडेलले फेवातालको सीमांकनको कार्य सकिसकेको दिएका छन् । ‘हाम्रो सीमांकनको कार्य सकिसकेको छ ।’ उनले भने, ‘यसमा थप अध्यान गरेर प्रतिवेदन पेश गर्दै छौं ।’ उनका अनुसार यही फागुन १ वा २ गते प्रतिवेदन पेश गरिदै छ । समिति सीमांकनको अध्यान गरेर नक्सा बनाउने तयारीमा छ । समितिले फेवातालको क्षेत्रफल कति छ भनेर भने सार्वजनिक गर्न चाहेन ।

कमेन्टहरु
Loading...