सुमन थापामगर
पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षले आज नेपाल बन्दको आह्वान ग¥यो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले असंवैधानिक तरिकाले विभिन्न संवैधानिक निकायहरुमा नियुक्ति पश्चात् सपथ ग्रहण गराएका लगायतका विभिन्न कारणले नेपाल बन्दको घोषणा गरेको जनाएको छ । नेपाल बन्दका क्रममा आज पोखरामा केही मात्रामा प्रभाव परेको छ ।
सार्वजनिक गाडीहरु चलेका छैनन् । विद्यालय, उद्योग, कलकारखाना, बजार, पसल लगायत सबै बन्द छन् । तर अत्यावश्यक प्रेस, दूघ तथा पानी बोक्ने गाडी तथा एम्बुलेन्सहरु भने निर्वाध रुपमा चलेका छन् । केही निजी मोटरसाइकल तथा कारहरु चलेको भए पनि नेपाल बन्दलाई सफल पार्न पोखराका मुख्य चोकहरुमा बसेका बन्दकर्ताले बीच बाटोबाट नै फर्काएका छन् ।
पोखराको मुख्यचोकहरु अमरसिंहचोक, पृथ्वीचोक, महेन्द्रपुल लगायतका स्थानमा नेकपा प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ । पोखराका अन्य चोकमा भन्दा पृथ्वीचोक तथा महेन्द्रपुलमा बन्दकर्ताले केही कडाई गरेका छन् ।
अत्यावश्यक कामका लागि निस्किएका बाहेकलाई बन्दकर्ताले बीच बाटोबाट नै फर्काइदिएका छन् । महेन्द्रपुलमा केही समय अगाडि सवारीसाधन चलाएको भन्दै एक जना सर्वासधारणलाई फर्काउने क्रममा झडप समेत भएको थियो । बन्द सफल बनाउन भन्दै कार्यकताहरुले पोखराको महेन्द्रपुलमा केही समय प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी समेत गरेका थिए ।
तस्बिरः सुमन थापामगर