लेकसाइडको गोलमेचबाट मेयरले भने – पोखरा खुल्ला छ

दिपक के श्रेष्ठ

नेपालमा कोरोना कहरले पारेको प्रभावले वर्षगाँठ मनाउँन लाग्दा देशको पर्यटन क्षेत्र लगभग ध्वस्त भएको छ ।

पछिल्लो दिनमा कोरोनाको असर कम देखिदै गर्दा थला परेको पर्यटन उद्योगलाई पुनर्जीवन दिन सरोकारवाला निकायहरुले छलफल गरेका छन् । ‘एनसेल–बाह्रखरी पहल’ नाम दिइएको छलफलमा कोभिड–१९ को असरबाट पर्यटनलाई उकास्ने प्रयासबारे विचार पस्कने प्रयास गरिएको छ ।

गोलमेच शैलीको कार्यक्रममा विचार राख्दै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले आन्तरीक एवं बाह्य पर्यटककालागि पोखरा खुल्ला रहेको सन्देश दिए । ‘स्वास्थ्यका प्रोटोकल पालना गर्दै लेकसाइड र पोखरा खुल्ला छ’ मेयर जिसीले भने ‘आउनुहोस्, घुम्नुहोस् ।’

जिसीको भनाइमा पोखरामा कोरोनाको असर घट्दैछ । यसै मेसोमा उनले भने, ‘कोरोना र यस्ता प्रकृतिका महामारी दुनियाँमा देखा परिरहन्छ, सँधै डराएर बस्न हुँदैन ।’ पर्यटन व्यवसायीमा परेको समस्यालाई नीतिगतरुपमा सघाउन महानगर तयार रहेको उनले जनाए ।

घुमघामका लागि आन्तरीक पर्यटकलाई प्रोत्साहन गर्ने बाहेक आर्थिक सहयोग र अनुदानको समेत आवश्यकता रहेको भन्दै प्रदेशका योजना आयोग उपाध्यक्ष गिरिधारी शर्माले आवश्यक योजना तर्जुमा गर्ने आश्वासन दिए । प्रदेश सरकार मुलतः नीति निर्माणमा सक्रिय रहेको भन्दै शर्माले पर्यटनमैत्री योजना बनाउने उल्लेख गरे ।

त्यस्तै, हालको अवस्थामा पर्यटनलाई उकास्न नीति, नियममै सुधार गर्नुपर्ने धारणा राख्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले अन्य देशमा नागरिकलाई घुमघाम गर्न सरकारले प्याकेजको व्यवस्था गरेको उदाहरण दिए । यसको ठिक विपरित नेपालमा पर्यटनलाई भित्र्याउन हवाइसेवाको भाडा नै महंगो रहेको उनले औंल्याए ।

‘दिल्लीबाट बैंकक जाने हवाई भाडा काठमाण्डौं आउन भन्दा सस्तो छ’ उनले भने ‘अनि पर्यटक किन नेपाल आउने ?’ नेपालमा पाइलैपिच्छेजस्तो पर्यटकले कर तिर्नुपर्दा पनि पछिल्लो समय यता आउन आकर्षण घट्दै गरेको उनको भनाई थियो । त्यस्तै, आन्तरीक पर्यटकलाई पनि विशेष छूट र सुविधा दिन सके पर्यटनले गति लिने उनले सुझाए । नेपालमा २ दिन सार्वजनिक बिदा दिनसके पर्यटनलाई टेवा पुग्नसक्ने उनको धारणा छ ।

युवाउद्यमी निरन्जन श्रेष्ठले हरेक व्यवसायीले आफुमा ‘आशा’को सञ्चार गर्न सक्नुपर्ने बताए । ‘कोरोनाको प्रकोप दुनियाँभर छ’ श्रेष्ठले भने ‘हामीले आश मार्नु हुँदैन, सिक्नु पर्छ, लड्नु पर्छ ।’

जस्तै प्रतिकुल समयमा पनि व्यवसायीले कर तिरेर राज्यप्रति वफादार भएकाले राज्यले पनि अभिभावकको भूमिका निभाउन सक्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘जस्तै अवस्थामा पनि सरकारले व्यवसायीलाई हौसला र विश्वास दिइरहनुपर्छ ।’

पोखरा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अर्जुन पोखरेलले कोभिड पोलिसीको कुरा गर्दा हामीलाई ‘किन आत्तिएको ?’ भनि प्रश्न गरिएको भन्दै सरकारी संयन्त्रको आलोचना गरे । महासंघले नै व्यवसाय खोल्नु पर्छ भन्दै दबाब दिएकै कारण पोखराको अर्थतन्त्र कमजोर हुन नपाएको उनले दाबी गरे । सरकारको बजेटबाट निराश भएका व्यवसायीहरु दोहोरो मारमा परेको उनको जिकिर थियो ।

पोखरामा पर्यटनको बसाई लम्ब्याउन लेकसाइडबाहिर पनि नयाँ गन्तव्यको खोजी गर्नुपर्ने, नयाँ क्षेत्रको खोजी र विस्तारमा लाग्नुपर्ने पोखरेलले धारणा राखे ।

बहस र छलफलमूलक कार्यक्रमको सहजीकरण बाह्रखरी मिडियाका समाचार सम्पादक बलराम पाण्डेले गरेका थिए ।

कमेन्टहरु
Loading...