बाढी प्रभावित क्षेत्रका बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा

बाग्लुङ । गत भदौ १७ गते भुजीखोलामा आएको बाढीबाट प्रभावित ढोरपाटन नगरपालिका–९ सुप्राङको जनचेतना र सुकुर्दुङको सरस्वती आधारभूत विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा प्रदान गरिएको छ । बागलुङ घर भई हाल हङकङमा रहेका टीका र जुनु रानाको पहलमा स्थापित ‘स्वास्थ्य तथा विपन्न विद्यार्थी अक्षयकोष’ मार्फत् दुवै विद्यालयका ५/५ जना बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा सहयोग गरिएको अक्षयकोषका सञ्चालक विजय रानाले जानकारी दिएका छन् । विद्यालयमै पुगी नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीष र ढोरपाटन नगरपालिका–७ का वडाध्यक्ष दीपक थापाले संयुक्तरूपमा सामग्री हस्तान्तरण गरेका थिए । ६० हजार बराबरको शैक्षिक सामग्री र लत्ताकपडा प्रदान गरिएको सञ्चालक रानाको भनाई छ ।

विद्यार्थीले वर्ष दिनलाई पुग्ने गरी कापी, कलमलगायत स्टेशनरी सामग्री, झोला र एकरएक थान ज्याकेट पाएका छन् । बाढीका कारण अभिभावक गुमाएका र घरको आर्थिक स्थिति अत्यन्त कमजोर भएका बालबालिका छनोट गरी शैक्षिक सामग्री सहयोग गरिएको हो । अर्थाभावकै कारण बालबालिकाको पढाईमा असर नपरोस् भनेर कोषमार्फत् सहयोग गरिएको सञ्चालक रानाले बताएका छन् ।

जनचेतना आधारभूत विद्यालयका प्रधानाध्यापक रामबहादुर घर्तीमगरले दाताको सहयोगले बाढी प्रभावित परिवारको घाउमा मलमपट्टी लागेको प्रतिक्रिया दिएका छन् । ‘बाढी प्रभावितको पीडा विस्तारै कम हुँदै गएको छ, धेरैतिरबाट राहत सहयोग आइरहेको छ ।’ उनले भने ।

विद्यालयमा अध्ययनरत ३० प्रतिशत बालबालिकाको किताब, कापीसहित सबै पठनपाठनका सबै सामग्री बाढीले बगाएको प्रअ घर्तीमगरको भनाई छ । बाढीले सो विद्यालय पनि पूर्णरूपमा क्षतिग्रस्त बनेको थियो ।

भवन नै नभएपछि विद्यार्थीलाई खुला चौरमा राखेर पढाइएको विद्यालयले जनाएको छ । पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले बाढीबाट अति प्रभावित बालबालिकाका लागि कोषले गरेको सहयोग सराहनीय रहेको उल्लेख गरेका छन् । उनले न्यून आय भएका परिवारका बालबच्चाको पढाई सुनिश्चितताका लागि सबै पक्षको पहल र योगदान चाहिने बताए । वडाध्यक्ष थापाले बाढीबाट क्षतिग्रस्त विद्यालय भवन छिटो पुनःनिर्माण गर्नुपर्नेमा जोड दिएका छन् । ‘यो जाडोमा बालबालिका भुईंमा बसेर पढिरहेका छन्, साहै्र दर्दनाक छ ।’ उनले भने, ‘यस क्षेत्रमा न्यून आय भएका परिवार बढी छन्, जसका कारण बालबच्चालाई पनि राम्रो पढ्ने वातावरण छैन ।’

बाढीले सरस्वती आधारभूत विद्यालयका ३ कोठा र शौचालय क्षतिग्रस्त बनाएको थियो । कक्षाकोठा अभावमा कक्षा १ र २ का विद्यार्थीलाई सँगै राखेर पढाउने गरिएको विद्यालयका प्रधानाध्यापक देवेन्द्रकुमार घर्तीमगरले बताएका छन् । खोला किनारमा भएकाले विद्यालय सँधै बाढीको जोखिममा छ । स्वास्थ्य र शिक्षा क्षेत्रलाई लक्षित गरी अक्षयकोष स्थापना गरिएको सञ्चालक रानाले बताए । विपन्नताका कारण उपचारबाट बञ्चित व्यक्तिलाई कोषमार्फत् आर्थिक सहयोग गर्ने गरी कार्यविधि बनाइएको उनको भनाई छ । कोष परिचालन गरेर समुदायस्तरमा स्वास्थ्य सचेतनाका कार्यक्रम पनि सञ्चालन गरिने भएको छ । रासस

कमेन्टहरु
Loading...