म्यानमारको ‘कू’ प्रति अमेरिकाको कडा प्रतिक्रिया, सुकीलाई रिहा गर्न जापानको आग्रह

गन्थन डेस्क । अमेरिकाले म्यानमारमा गरिएको सत्तापलट र प्रजातन्त्र पक्षधर नेताहरुको गिरफ्तारीको कडा प्रतिक्रिया गरेका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ताले विज्ञप्ति जारी गर्दै प्रजातान्त्रिक प्रक्रियालाई कमजोर पार्न गरिएको गिरफ्तारीको विरोध गरेको हो ।

राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले राष्ट्रपति जो बाइडेनलाई म्यानमारको अवस्थाबारे ब्रिफिङ गरेको पनि जनाइएको छ । ह्वाइट हाउसको विज्ञप्तिमा भनिएको छ, ‘बर्माका प्रजातान्त्रिक संस्थाहरूलाई हाम्रो बलियो साथ छ र त्यहाँको सेना र अरू सबै सरोकारवालाहरूलाई प्रजातान्त्रिक मूल्यमान्यतालाई पालना गर्न र नियन्त्रणमा लिइएका सबैलाई तत्काल रिहा गर्न माग गर्छौं ।’ नोभेम्बरको चुनावी परिणाम नमान्ने र बर्माको प्रजातान्त्रिक प्रक्रियालाई रोक्ने कुनै पनि कुरा आफूलाई अमान्य हुने ह्वाइटहाउसले प्रष्ट्याएको छ ।

आवश्यक कदम चाल्ने चेतावनी दिइएको विज्ञप्तिमा भनिएको छ, ‘हामीले परिस्थितिलाई नजिकबाट नियालिरहेका छौं । लामो समयदेखि प्रजातन्त्र र शान्तिका लागि धेरै कुरा सहँदै आएका बर्मेली जनताको पक्षमा छौं । सेनाले अहिलेको कदम फिर्ता नलिए हामी आवश्यक कदम चाल्नेछौं ।’

त्यस्तै यता जापानले पनि सोमबार म्यान्मारको सेनालाई आङ सान सुकीलाई रिहा गर्न र प्रजातन्त्र पुनः स्थापना गर्न आग्रह गरेको छ । जापानको परराष्ट्र मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा सेनालाई म्यान्मारमा लोकतान्त्रिक राजनीतिक प्रणाली छिटो पुनःस्थापना गर्न आग्रह गरेको बताइएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जापानले म्यान्मारमा प्रजातान्त्रिक प्रक्रियालाई पूर्ण रुपमा समर्थन गर्दै आएको र म्यान्मार पुनः पछाडी फर्केको यस कार्यको बिरोध गरेको जनाइएको छ ।

टोकियोमा सयौं प्रदर्शनकारीहरुले संयुक्त राष्ट्र युनिभर्सिटीबाहिर प्रदर्शन गर्दै सोमबार सेनाले नियन्त्रणमा लिएको आङ सान सुकीको रिहाईको लागि अन्तर्राष्ट्रिय समुदायलाई समेत आग्रह गरेको छ ।

म्यान्मारको सैनिक टेलिभिजनले म्यान्मारको सम्पूर्ण सत्ता एक वर्षका लागि आफूहरुले नियन्त्रणमा लिएको घोषणा गरेको छ । आङ सान सुकी समेत देशका सबैजसो वरिष्ट राजनीतिज्ञहरुलाई सेनाले नियन्त्रणमा लिइएको पनि जनाएको छ ।

जापानले लामो समयदेखि म्यान्मारसँग न्यानो सम्बन्ध राख्दै आएको र पर्याप्त सहायता र निजी लगानी गर्दै आएको छ ।

कमेन्टहरु
Loading...