स्वास्थ्य निर्देशनालय भन्छ : कोरोना घट्दैछ तर खतरा कायमै

रिना थापा

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बताएको छ ।

कोरोना संक्रमणको दर घटेको हो कि परीक्षण ? भन्ने प्रश्नमा निर्देशनालयले उक्त जवाफ दिएको हो । निर्देशनालयले गत चैत १८ गते देखि सरकारले उपलब्ध गराएको पिसिआर मेसिनमार्फत कोरोना परीक्षण सुरु गरेको थियो । त्यस दिन ३ जनाकोे नमुना संकलन गरिएको थियो ।

प्रदेशमा कोरोना परीक्षणको संख्या घटेको निर्देशनालयका सुचना अधिकारी भोजराज गौतमले जानकारी दिए । उनका अनुुसार प्रदेशमा हाल नमुना संकलनको संख्या घटेको छ । उनका अनुसार कोरोनाको असर समुदायमा पनि न्यून छ ।

‘परीक्षण घटाएर संक्रमितको संख्या नदेखिएको होइन, समुदायस्तरमै कोरोनाको लक्षण कम पाइएको छ’ गौतमले भने ‘ढुक्क हुनुहोस्, कम्युनिटीमा यसको प्रकोप घट्दो छ ।’

उनले प्रदेशको आइसोलेसनमा हाल ३ जनामात्रै कोरोना संक्रमित रहेको जनाए । प्रदेशमा २ सय २३ जना क्षमताको आइसोलेसन कक्ष रहेको छ । अधिकांश संक्रमित घरमै बस्ने गरेको कारण पनि आइसोलेशन रित्तो देखिन थालेको हो ।

पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माको भनाई पनि गौतमकै जस्तो छ । गौतमका अनुसार परीक्षण घटाइएको छैन । समुदायमा कोरोनाको प्रकोप घट्दै गइरहेको प्रमुख शर्माको दाबी छ ।

‘महानगरले निशूल्क परीक्षण उपलब्ध गराउन ३ वटा स्वाब संकलन केन्द्र बनाएको छ’ शर्माले भने ‘तर अचेल स्वाब दिनेहरुको संख्या अत्यन्तै न्यून छ ।’ त्यस्तै, महानगरको मालेपाटनस्थित आइशोलेसन सेन्टरसमेत रित्तो रहेको उनले जानकारी दिए ।

संक्रमितको संख्या कम हुँदै गएको पाइएपनि निर्देशनालय र महानगरपालिकाले भने सर्वसाधारणलाई सामाजिक दूरी कायम गर्न, मास्क र सेनिटाइजरको प्रयोग गर्न र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएमा तुरुन्त परीक्षण गराउन अपील गरेको छ । महानगरले भनेको छ, ‘संक्रमण कम देखिएपनि खतरा टरेको छैन ।’

हालसम्म गण्डकी प्रदेशमा १२ लाख ६ हजार ७३२ जनाको स्वाब परीक्षण गर्दा १५ हजार ५१७ जनामा संक्रमण पाइएको थियो । जसमध्ये हाल सक्रिय संक्रमितको संख्या ३ सय ६६ रहेको छ । त्यस्तै, कास्कीमा ७ हजार ४०७ जनामा संक्रमण पुष्टि भएको थियो । हाल कास्कीमा २ सय ६० सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।

कोरोना भाइरसकाकारण प्रदेशमा हालसम्म २ सय ३ जनाको मृत्यु भएकोमा १ सय १२ जना कास्कीका रहेका छन् ।

 

कमेन्टहरु
Loading...