मध्य मेसम्म साउदी अरबमा यात्रा गर्न प्रतिवन्ध

एजेन्सी । साउदी अरबले यात्रा प्रतिवन्धको समयावधि फेरी लम्ब्याएको छ ।

साउदी अरबको सरकारले यात्रा प्रतिवन्ध लगाइएको समयावधि शुक्रबार थप गरिएको घोषणा गरेको हो । नयाँ निर्णयअनुसार नागरिकले आगामी मे १७ तारिखसम्म यात्रा गर्न नपाउने अधिकारीहरुले जानकारी दिएका छन् । कोरोनाको महामारी खतरापूर्ण अवस्थामै रहेकाले यात्रा प्रतिवन्धको निर्णय खारेज गर्न नमिल्ने निश्कर्ष निकाल्दै सरकारले समयावधि थप गरेको हो ।

साउदी अरबमा नागरिकलाई देशभित्रै पनि यात्रा गर्न, सामुद्रीक क्षेत्रमा जान, हवाइ तथा स्थल मार्गमार्फत सिमानाभन्दा बाहिर आवतजावत गर्न अघिल्लो बर्षको मार्च १३ देखि नै प्रतिवन्ध लगाइएको हो । कोरोना भाइरसको विरुद्धको खोप ल्याउन ढिलाई भएकाले यात्रा प्रतिवन्धको अवधि पनि लम्ब्याउनु परेको साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

साउदी अरबमा शुक्रबार मात्रै थप २ सय ६७ जनाका कोरोना भाइरसको संक्रमण पुष्टि भएको सरकारी अधिकारीहरुले जनाएका छन् । सोही अवधिमा २ जनाको ज्यान गएको छ ।

योसँगै साउदी अरबमा अहिलेसम्म कोरोना भाइरसबाट कुल ६ हजार ३ सय ६८ जनाको ज्यान गएको छ । रासस

कमेन्टहरु
Loading...