धवलागिरी आधार शिविर जोड्ने नयाँ पदमार्गमा पूर्वाधार निर्माण सुरु

म्याग्दी । म्याग्दीस्थित संसारको सातौं (८,१६७) मिटर अग्लो धवलागिरी हिमालको आधार शिविर जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ । अन्नपूर्ण गाउँपालिकाले पहिचान गरेको जलथले–फगाम–सुवा–मतिचौर–कालीबराह हुँदै रघुगंगा गाउँपालिकास्थित धवलागिरी हिमालको दक्षिणी आधार शिविर जोड्ने पदमार्गमा पूर्वाधार निर्माण सुरु भएको हो । दानाका बासिन्दाले भेडाबाख्रा र गाईभैंसीको गोठ लेक–बेंसी गराउन प्रयोग गरेको परम्परागत बाटोलाई पर्यटन पदमार्गमा रुपान्तरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताएका छन् । ‘सडक विस्तारसँगै पुराना पदमार्ग र पर्यटकको बसाइ छोटिएकाले नयाँ पदमार्ग पहिचान गरेका हौं ।’ उनले भने, ‘गोठालाले प्रयोग गरेको बाटोमा पूर्वाधार तयार पारेर पदमार्गमा रुपान्तरण गर्न थालिएको छ ।’

यसअघि पहिचान भएको नारच्याङ हुँदै संसारमै पहिलोपटक आरोहण भएको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्गोज’ पदमार्गमा पर्यटन विभागले पूर्वाधार निर्माण सुरु गरेको छ । जलथले हुँदै चारदेखि ५ दिन पैदलयात्रा गरेर धवलागिरी आधार शिविरमा पुग्न सकिने स्थानीयवासीले बताएका छन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा पदमार्गको प्रवेशविन्दु जलथलेबाट पदमार्ग निर्माण सुरु गरेको छ ।

उपभोक्ता समितिका अध्यक्ष दुर्गादत्त सुवेदीले जलथलेबाट फगामको चिहानडाँडाको टावरसम्म पदमार्ग निर्माण सुरु भएको जानकारी दिएका छन् । उनका अनुसार उकालोमा १.५ मिटर फराकिलो सिँढी चिनेर १ हजार १ सय ३३ मिटर पदमार्ग बनाउन लागिएको छ । ‘२० सेन्टिमिटर उचाई र ४५ सेन्टिमिटर चौडाई भएको सिँढी बनाउने डिजाइन छ ।’ सुवेदीले भने, ‘विभिन्न ठाउँमा ५ चौतारी बनाउने लक्ष्य छ ।’ गाउँपालिकाले १० लाख विनियोजन गरेको जलथले–फगाम पदमार्ग निर्माणमा उपभोक्ताले १ लाख २३ हजार बराबरको श्रमदान गर्नुपर्नेछ ।

फगाम, सुवा र जलथलेका बासिन्दा पदमार्ग निर्माणमा खटिएका छन् । ढुंगाको सिँढी चिनेर पदमार्ग बनाउन लागिएको हो । गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले गत आवमा बजेट विनियोजन भए पनि बन्दाबन्दीका कारण कार्यान्वयन हुन नसकेको योजनालाई यसपालि निरन्तरता दिएको बताए । धवलागिरी आधार शिविर पुगेपछि रघुगंगा, अन्नपूर्ण र थासाङ गाउँपालिकाको सिमानामा पर्ने कालीबराह हुँदै मुस्ताङ निस्कने अर्को धवलागिरी आइसफल पदमार्ग छ । यो पदमार्गअन्तर्गत पर्ने दानाको मतिचौर बराहमा १ सय ८ धारा निर्माण सुरु भएको छ । धारा निर्माण गर्न गाउँपालिकाले ८ लाख विनियोजन गरेको छ ।

जनै पूर्णिमाको दिन पूजाआजा र मेला लाग्ने मतिचौर बराहलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने उद्देश्यले धारा निर्माण गर्न लागिएको उपभोक्ता समितिका सचिव गंगा पुनले बताएकी छिन् । मतिचौर बराहमा जनैपूर्णिमाका दिन पूजाआजा र भाकल गरेमा मनले चिताएको कुरा पूरा हुने विश्वास छ । पदमार्गमा पूर्वाधार निर्माणलाई निरन्तरता दिनुका साथै नक्सा तयार पार्न प्राविधिक टोलीसहित स्थलगत सम्भाव्यता अध्ययन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पुनले बताएका छन् ।

ग्रामीण बस्ती, जनजीवन, वनजंगल, झरना, वन पैदावार, वन्यजन्तु, तालतलैया र अग्ला पहाडबाट हिमालको दृश्यावलोकन गर्न पाउनु यो पदमार्गको विशेषता हो । पूर्वाधार तयार भएपछि पदमार्ग सञ्चालनमा ल्याउने गाउँपालिकाको तयारी छ । रासस

कमेन्टहरु
Loading...