महिलालाई लोकसेवा पढाउँदै कास्कीको माछापुच्छ«े गाउँपालिका

पोखरा । लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन कास्कीको एउटा गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । जिल्लाको उत्तर–पश्चिममा अवस्थित माछापुच्छ«े गाउँपालिकाले गाउँपालिकाभित्र स्थायी बसोबास भएका महिला तथा युवतीका लागि लोकसेवाप्रति आकर्षण बढाउन र परीक्षामा सक्षम बनाउन तयारी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक महिलातर्फको लक्षित कार्यक्रमअन्तर्गत राजपत्र अनंकित प्रथम श्रेणी (नायबसुब्बा) र राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) वा सो सरहको परीक्षाका लागि ३० युवती तथा महिलालाई निःशुल्क तयारी कक्षा सञ्चालन गरिने गाउँपालिका उपप्रमुख कृष्णकुमारी दवाडीले बताइन् । छिमेकी जिल्ला तथा पालिकाहरूको तुलनामा निजामती क्षेत्रमा आफ्नो गाउँपालिकाबाट न्यून उपस्थिति रहेकाले समेत पालिकावासीलाई लोकसेवाप्रति आकर्षण बढाउन कार्यक्रमले सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष दवाडीले तयारी कक्षामा सहभागिताका लागि माघ १४ गतेसम्म खुला आवेदन आह्वान गरिसकिएको र माग संख्याभन्दा बढी आवेदन आएमा सहभागी छनोट सामान्य ज्ञान तथा बौद्धिक परीक्षणमार्फत गरिने बताएकी छिन् । उनले भनिन्, ‘कतिपय महिलाको चाहना हुँदा पनि बजारसम्म पुगेर तयारी कक्षा लिनसक्ने अवस्था नरहेकाले उनीहरूलाई लक्ष्य गरी गाउँमै कक्षा सञ्चालन गर्न लागेका छौं । राष्ट्रसवेक कर्मचारीमा स्थानीयवासीको आकर्षण बढाउन कार्यक्रमले सहयोग पुग्ने विश्वास छ ।’

सुविधासम्पन्न प्रशासनिक भवन बन्दै

माछापुच्छ«े गाउँपालिकाले आधुनिक र सुविधासम्पन्न प्रशासनिक भवन निर्माण सुरु गरेको छ । गाउँपालिकाको केन्द्र वडा नं ४ लाहाचोकस्थित सानोपाटन (साहुथर) मा १० रोपनी क्षेत्रफलको जमिनमा ६ करोड ६२ लाख ११ हजार ९ सय ६ लागतमा गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माणको काम तीव्रताका साथ भइरहेको छ । साविक लाहाचोक गाविस कार्यालय भवनको मर्मतसम्भार गरेर हालसम्म गाउँपालिकाको कार्यालय सञ्चालन हुँदै आएकामा अहिलेको भवन साँघुरो हुँदा सेवाप्रवाहमा समस्या छ । रासस

कमेन्टहरु
Loading...