सीमा क्षेत्रमा भारत र चीनका सुरक्षाकर्मीबिच झडप

काठमाडौं । भारतको सिक्किमस्थित भारत–चीन सीमाक्षेत्रमा दुई मुलुकका सेनाबीच झडप भएको छ । केही दिनअघि सिक्किमको उत्तरी क्षेत्रमा रहेको नाकु लामा दुई देशका सुरक्षाकर्मीबिच झडप भएको स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डिया तथा इन्डिया टुडेले जनाएका छन् ।

समाचारमा उल्लेख गरिएअनुसार उक्त झडपमा दुवै पक्षका सेनाहरु घाइते भएका छन् । लद्दाखको सीमा क्षेत्रमा गएको वर्षदेखि सुरु भएको सीमा विवादको समाधान नभइरहेका बेला सिक्किममा पनि दुई देशका सुरक्षाकर्मीबिच झडपको अवस्था सिर्जना भएको हो ।

चिनियाँ सुरक्षाकर्मी सीमा पार गरेर भारतीय भूमिका प्रवेश गर्न खोजेको र भारतीय सेनाले उनीहरुलाई रोक्ने क्रममा झडपको अवस्था आएको दाबी छ ।अहिले अवस्था नियन्त्रणमा रहेको स्रोतलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ

भारत–चीन सीमाक्षेत्रमा बेलाबेलामा झडप हुने घटना पछिल्लो समय बढ्दै गएका छन् । सन् २०१७ मा डोकलामको तीन मुलुकको सीमाक्षेत्रमा झडप भएको थियो । सो क्षेत्रमा ७३ दिनसम्म तनाव बढेको थियो ।

अहिले सीमाक्षेत्रको तनाव कम गर्ने विषयमा भारत र चिनियाँ सेना वार्ताको क्रममा छ । आइतबार लामो समयपछि दुई मुलुकका सेनाबीच कमाण्डरस्तरको वार्ता भएको थियो । सन् २०२० को जुनको मध्यमा लद्दाखस्थित दुई मुलुकको सीमाक्षेत्रमा भएको झडपमा परी २० भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसयता दुई मुलुकको सम्बन्ध पनि तनावपूर्ण बन्दै गएको छ ।

कमेन्टहरु
Loading...