एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाको नयाँ प्रजातिको संक्रमण पहिलेको भन्दा धेरै खतरनाक भएको बताएका छन् । उनीहरुले पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका संक्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको बताइरहेका बेला प्रधानमन्त्री जोनसनले यो कुरा बताएका हुन् । प्रधानमन्त्री जोनसनले भनेका छन् कि यो भाइरस पहिलेको भन्दा धेरै नै खतरा छ त्यसैले सबै नागरिकले पहिलेको भन्दा अझ बढी सुरक्षा मापदण्ड अपनाउनुपर्ने हुन्छ ।
शुक्रबार डाउनिङ स्ट्रिटमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले सो धारणा राखेका हुन् । उनले यो भाइरस पहिलो पटक गत महिना मात्र इंगल्याण्डको केन्टमा देखिएको बताएका थिए । उनले सो पत्रकार सम्मेलनमा भनेका थिए कि यो नयाँ प्रजातिको भाइरस पुरानो भन्दा कम्तीमा पनि ७० प्रतिशत बढी मात्रामा सक्रमण फैलिने खालको रहेको छ । पछिल्लो समयमा निकै संक्रामक बन्दै गएको बेलायतमा कोरोना भाइरसको सक्रमणबाट एकैदिनमा १ हजार ८ सय २० जनाको मृत्यु भएको समाचारमा जनाइएको थियो । बेलायतका स्वास्थ्य अधिकारीहरुले गएको बुधबार मात्र यहाँ त्यति धेरै नागरिकको ज्यान कोरोना भाइरसको सङक्रमणबाट भएको जानकारी दिएका थिए ।
बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले बेलायतमा कोरोना भाइरसको संक्रमण सुरु भएदेखि अहिलेका केही हप्ता यता धेरै जनाको ज्यान जान थालेको बताउने गरेका छन् । उता यहींबाट नै सुरु भएको भनिएको कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार सो भाइरस गत हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो । उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ–नयाँ देशमा पुगिरहेको बताएको छ ।
बेलायतको स्वास्थ्य मन्त्रालयका अधिकारीले यो संक्रमण पुरानो भन्दा खतरनाक भएको प्रमाण मिलेको बताएका छन् । उनका अनुसार कोरोनाको पहिलेको संक्रमणमा १ हजार जना संक्रमितमा १० जनाको ज्यान गएको पाइएको थियो भने यो नयाँ प्रजातिको संक्रमणमा भने १ हजार संक्रमितमा १३ वा १४ जनाको नै निधन भएको पाइएको छ । पछिल्लो समयमा यो संक्रमण युरोपकै कैयौं सहरमा पुगिसकेका पाइएको छ । यसका कारण ती देशमा थप सतर्कता अपनाउने गरिएको छ । तर ती देशमा हाल खोप पनि दिन थालिएकोले नागरिकमा आशा पलाएको भने बताइएको छ । युरोपेली युनियनले आगामी अगष्ट महिनाको अन्तिम सम्ममा विभिन्न युरोपेली देशका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइ सकिने कुरा हालैमात्र जानकारी गराएको छ ।
प्रधानमन्त्री जोनसनले यहाँका कम्तीमा पनि ३८ हजार नागरिक संक्रमित भएर अस्पतालमा रहेका छन् । उनले यो नयाँ प्रजातिको भाइरस बेलायतमा प्रवेश गरेपछि यसले पहिलेको भन्दा पनि धेरै मानिसलाई संक्रमित बनाएको छ । उनले बेलायतमा कोरोनाको पहिलो वेभ आएको बताएका छन् । सो वेभका बेलामा भन्दा यस पटकको यो नयाँ सक्रमणले गर्दा कम्तीमा पनि ७८ प्रतिशत बढी मात्रामा नागरिकलाई संक्रमित तुल्याएको छ । साथै यसका कारण अरुभन्दा धेरै मृत्यु पनि भएको प्रधानमन्त्री जोनसनले जानकारी दिएका छन् । रासस