काभ्रेका २ स्थानमा बम विस्फोट, सवारी आवागमनमा समस्या उत्पन्न

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ६ को बुडोल तथा रोशी गाउँपालिका वडा नम्बर ८ को मंगलबारमा बम विस्फोट भएको छ । आज नेपाल बन्द घोषणा गरिएकाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले उक्त स्थानमा बम विस्फोट गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

आज बिहान पौने ४ बजेको समयमा बुडोलमा सडक छेउमा शंकास्पद वस्तु प्रहरीले बरामद गरिएको थियो । प्रहरीका अनुसार उक्त शंकास्पद वस्तु झोलामा राखिएको र कुकर जस्तो देखिएको थियो । सोही स्थानमा बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

हाल उक्त स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली, नेपाल प्रहरी खटिएका छन् । प्रहरीका अनुसार बम विस्फोट पश्चात भएको सवारी पास जाँचका कारण बनेपाका सवारीासधन जाममा परेका छन् ।

यता जिल्लाको रोशी गाउँपालिका वडा नम्बर ८ मा समेत बम विस्फोट भएको छ । नार्केस्थित विपी राजमार्गमा बम विस्फोट भएको हो । राजमार्गको बायाँतर्फको लेनमा बम विस्फोट भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।

बम विस्फोट भएपश्चात् विपी तथा अरनिको राजमार्गमा लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेका छैनन् । हाल उक्त राजमार्गहरुबाट गाडी पास गराउनका लागि टोली नै खटिएको छ ।

कमेन्टहरु
Loading...