अदालतबाट जागिर खोसिएपछि पनेरुमाथि घुस मागेको आरोप

 

रिना थापा । जिल्ला अदालत कास्कीका सूचना अधिकारी निलप्रसाद पनेरुलाई ५० हजार रुपैयाँ घुस मागेको आरोप लागेको छ । अदालतमा यसअघि कार्यरत पूर्व कर्मचारीले पनेरुमाथि लगाएको आरोप अनुसार उनले करारमा नवीकरण गर्न जनही ५० हजार रुपैयाँ मागेका हुन् ।

पुसको ५ गतेसम्म कार्यालय सहायककारुपमा काम गरेकी शान्ता थापाले अवधि नवीकरण गर्न आग्रह गरेपछि सूचना अधिकारीले ५० हजार रुपैयाँ मागेको बताइन् । ‘निल पनेरुले कार्यकक्षमै म सँग ५० हजार रुपैयाँ माग्नु भयो’ थापाले भनेकी छिन् ‘पैसा दिन सकिन, जागिर खोसियो ।’

थापाका अनुसार माघ ५ गते सरसफाइको काम सकेपछि पनेरुसँग भेट्न जाँदा करिब साढे १० बजे उनले पैसा मागेका हुन् । ‘नवीकरणको निवेदनबारे के भएछ सर ?’ भनेर सोध्दा पैसा मागिएको उनले बताइन् । आफु पैसा दिन नसक्ने भएकाले त्यहाँबाट निस्किएर हिँडेको बताउँदै उनले पनेरुलाई कारवाही हुनुपर्ने उल्लेख गरिन् ।

यस्तै आरोप विष्णु अधिकारीको पनि छ । पनेरुले उनलाई पनि कार्यकक्षमै पैसा मागेका हुन् । माघ ४ गते पनेरुले कार्यकक्षमै ५० हजार रुपैयाँ मागेको अधिकारीले बताइन् । ५ गते काम सकेर घर फर्किदा बाटैमा पनेरुले फोन गरी अधिकारीलाई ‘भोलीदेखि नआउनु’ भनेका थिए ।

त्यस्तै, अर्की पूर्वकर्मचारीले पनि पनेरुमाथि उस्तै आरोप लगाएकी छिन् । ४ गतेसम्म रजिष्ट्रर र विद्युतीय हाजिरी गरेकी उनलाई ५ गते हाजिरी गर्न दिइएन । उनको करार नवीकरण भएको जानकारी उनका पतिलाई दिइएको थियो, जो, अदालतमै कार्यरत छन् ।

यस विषयमा सूचना अधिकारी पनेरुले उनीहरुको दाबी मिथ्या र कपोलकल्पित भएको प्रतिक्रिया दिएका छन् । ‘मैले उहाँहरुसँग रकम मागेको छैन, यो कपोलकल्पित र झुठ हो, उनीहरुको आरोपमात्र हो ।’

अदालतले उक्त ४ कर्मचारीबारे गुनासो आएको, अत्यन्त विवादित र अनुशासनहीन भएको आरोप लगाएको छ । तर अदालते उनै कर्मचारीलाई ०७६ को असारमा ‘लगनशील, अनुशासित, उत्तरदायी र जवाफदेहिताका साथ तोकिएको कार्यसम्पादन तथा सेवाग्राहीप्रति सम्मानयुक्त व्यवहार गरेको’ भन्दै सम्मान गरेको थियो ।

करार अवधि सकिएपछि पनि उनीहरुलाई माघ ५ गतेसम्म काम गराइएको विषयमा पनेरुले पुसको २९ गते नै हाजिरी नगर्नु भनेर जानकारी गराइएको बताए । तर उनीहरुले माघ ५ गतेसम्म हाजिरी गरिरहँदा पनि कही कसैले रोकटोक गरेनन् ।

कमेन्टहरु
Loading...