उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

एजेन्सी । अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छिन् ।

उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई दिनअघि उनले सोमबार सिनेटर पदबाट राजीनामा दिएकी हुन् । ‘मैले अमेरिकाको सिनेट सदस्य पद मात्रै छाडेकी हुँ, सिनेटबाटै विदा लिएको छैन, म सिनेटमै रहन्छु ।’ उनले ट्वीटरमा लेखेकी छिन् । अमेरिकामा उपराष्ट्रपति नै सिनेटको अध्यक्ष हुने व्यवस्था रहेकाले उनी उपराष्ट्रपतिमा निर्वाचित भएकाले स्वतः सिनेटको अध्यक्ष बन्ने भएका छन् ।

सिनेट सदस्यबाट राजीनामा दिएपनि अध्यक्ष हुने भएकाले सिनेटबाट बिदा नभएको उनले बताएकी छिन् । अमेरिकाको सिनेटमा अहिले डेमोक्र्याटिक र रिपब्लीकन दुवै पक्षका ५०/५० जना सदस्य रहेका छन् ।

ह्यारिस डेमोक्र्याटको तर्फबाट उपराष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनीसँगै उनकै पार्टीका जो बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । दुवै जनाले यही जनवरी २० तारिखमा सपथग्रहण गर्दै ह्वाइट हाउस प्रवेश गर्न लागेका छन् । रासस

कमेन्टहरु
Loading...