काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा गण्डकी प्रदेश विजयी भएको छ । गण्डकीले प्रदेश नं १ लाई २ विकेटले पराजित गरेको हो । मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै प्रदेश १ ले गण्डकीसामु जितका लागि १ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य गण्डकीले ३७ ओभरमा ८ विकेट गुमाउँदै पूरा ग¥यो ।
गण्डकीका लागि प्रारम्भिक ब्याट्सम्यान अर्जुन कुमालले ६८ बलमा ३५ रन बनाए । यसक्रममा उनले ५ चौका हिर्काए। यस्तै दीपक डुम्रेले ९४ बलमा ४ चौकासहित ३५ रनको योगदान दिए । यस्तै अभिषेक थापाले अविजित रहँदै १३ रन बताए ।
बलिङतर्फ प्रदेश १ का लागि शुभांकर उराव र मिनास थापाले २/२ तथा दीपेश कँडेल र हेमन्त राईले १/१ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गर्दै प्रदेश १ ले २७ दशमलव चार ओभरमा सबै विकेट गुमाएर १ सय २ रन मात्र बनायो ।
प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले ३१ बल खेल्दै १ छक्का र १ चौकाको मद्दतमा २४ रन बनाएका थिए । यस्तै मिनास थापाले ३४ बलमा ४ चौकासहित २२ तथा शुभांकर उरावले १२, दीपक पासवानले ११ र दिपेश कँडेलले १० रन बनाए । बलिङतर्फ गण्डकी प्रदेशका लागि सुवास भण्डारी र विशाल पौडेलले ४/४ तथा विपीन खत्रीले २ विकेट लिएका थिए ।
विशाल पौडेलको ह्याट्रिक
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत प्रदेश १ विरुद्धको खेलमा गण्डकी प्रदेशका विशाल पौडेलले ह्याट्रिक विकेट लिएका छन् । उनले आफ्नो सातौं ओभर तथा प्रतियोगिताको २८ औं ओभरमा प्रदेश १ का ३ खेलाडीलाई लगातार पेभेलियन फर्काएका हुन् ।
पौडेलले खेलको २८ औं ओभरको दोस्रो बलमा राजन मगरलाई ४ रनमा, तेस्रो बलमा मनोज तामाङलाई शून्यमा तथा चौंथो बलमा हेमन्त राईलाई पनि शून्य स्कोरमै पेभेलियन फर्काएका हुन् । हाल जारी चौथो संस्करणको प्रधानमन्त्री कपमा उनी ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । पौडेलले ६ दशालव ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर ४ विकेट लिएका थिए । रासस