पोखरा । गत पुष २२ गतेदेखि पोखरा महानगरपालिकाले राष्ट्रिय परिचयपत्रको लागि तथ्यांक संकलन कार्य सुरु भएको छ । महानगरका वडा १ देखि १० सम्मका वडामा महानगरले तथ्यांक संकलन कार्य सुरु गरेको हो । यद्यपि तथ्यांक संकलन कार्यमा व्यक्तिको उपस्थिति त्यति छैन । साथै तथ्यांक संकलन गर्ने कर्मचारीले समेत सहीरुपमा तथ्यांक संकलन गर्न सकिरहेका छैनन् ।
राष्ट्रिय परिचयपत्रको तथ्यांक संकलन जिल्ला प्रशासन कार्यालय कास्कीको मातहात र जिम्मा रहेपनि महानगरले समन्वय गरेर संकलन गरिरहेको छ । तथ्यांक संकलनका लागि महानगरले खटाइएका कर्मचारीलाई १ दिने तालिम प्रदान गरेको थियो । तथ्यांक संकलन गर्दा एउटा डेस्कमा घटना विवरण दर्ता र अर्कोमा परिचय पत्रका लागि आवश्यक पर्ने विवरण भर्ने गरी विवरण संकलन गर्न लगाइएको थियो ।
तर प्रत्येक वडा कार्यालयमा भइरहेका तथ्यांक संकलन केन्द्रमा भने महानगरले खटाए अनुरुपको कर्मचारी छैन । प्रत्येक संकलन केन्द्रमा प्रशासन कार्यालयमार्फत् रुझु अधिकारी खटाइएको छ । महानगरले तथ्यांक संकलनसँगै घटना विवरण संकलनका लागि समेत कर्मचारी खटाएको थियो । घटना विवरण संकलन गर्ने कर्मचारी र डेस्क भने वडा ५ र वडा ८ मा बाहेक अन्य वडामा देखिंदैन ।
तथ्यांक संकलन केन्द्रको अनुगमनका लागि उपमेयर मञ्जुदेवी गुरुङको संयोजकत्वमा अनुगमन समिति गठन भएको छ । शुक्रबारमात्र अनुगमन गर्न पुगेकी गुरुङको कर्मचारीसँग गुनासो छ, ‘तालिम प्रदान गरेपछि पनि तालिम अनुरुपमा संकलनका काम भएन ।’
उनले हाल पहिलो चरणमा महानगरका १० वटा वडामा मात्र तथ्यांक संकलन कार्य भइरहेको जानकारी गराइन् । ‘तालिम प्रदान गरेर हाललाई १० वडा मात्र संकलन गरेका छौं, त्यहीं पनि वडामा घटना विवरणको डेस्क नै छैन,’ उनले भनिन्, ‘तालिम सबैले एकैपटक लिएका हुन् वडा नम्बर ५ र ८ मा राम्रो छ अरुमा भएन ।’
कर्मचारीले तालिम अनुरुप बेग्ला–बेग्लै काम नगर्दा महानगरले प्रदान गरेको दैनिकी तलब भत्ता प्रदान गर्न गाह्रो हुने उनी बताउँछिन् । साथै जिल्ला प्रशासन कार्यालयबाट खटाइएको कर्मचारीलाई दैनिकी ६ सय भत्ता र २ सय खाजा खर्च छुट्याइएको छ ।
वडा नम्बर ५ का वडाध्यक्ष तथा महानगर प्रवक्ता धन बहादुर नेपाली राष्ट्रिय परिचयपत्रका लागि घटना विवरण पनि आवश्यक रहेको बताउँछन् । वडा नम्बर ५ मा हालसम्म २२ बढीको तथ्यांक संकलन भइसकेको नेपालीले जानकारी दिएका छन् । वडा नम्बर ५ भने महानगरले तालिम प्रदान गरे अनुरुप विवरण संकलन भइरहेको छ ।
त्यस्तै वडा नम्बर ४ मा शनिबार दिएको तथ्यांक अनुसार हालसम्म १५ सय हाराहारीमा तथ्यांक संकलन भइरहेको छ । जिल्ला प्रशासनमार्फत् खटाइएका रुजु अधिकारी विष्णु लामिछानेका अनुसार विवरण संकलन संख्या बढी भएपनि फोटो खिचाउने संख्या कम छ । उनका अनुसार कतिपय व्यक्तिलाई परिचयपत्रका बारे जानकारी नभएर पनि उपस्थिति कम रहेको छ । वडा नम्बर ४ मा घटना विवरणका लागि महानगरले भने अनुरुपको डेस्क छैन । लामिछानेका अनुसार घटना विवरणको जिम्मा वडा सचिवको हो । उनले भने, ‘आवश्यक पर्ने हो, तर छैन, म प्रशासनमार्फत् खटिएको कर्मचारी हो, सोही अनुसार आफ्नो जिम्माको काम गरेको छु ।’
नेपालमा बस्ने सबै व्यक्तिको विवरण राष्ट्रिय तथ्यांक भण्डारणमा समाविष्ट उद्देश्य साथ राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नागरिकलाई डिजिटल परिचयपत्र वितरणका लागि तथ्यांक संकलन गर्न सुर गरेको हो । सोही अनुरुप सुरुआतमा १५ जिल्लामध्ये कास्की पोखरा महानगरपालिकामा पुष २२ देखि माघ ५ गतेसम्म तथ्यांक संकलन गरिरहेको छ ।
यद्यपी मानिसलाई यसबारे जानकार नहुँदा सरकारले सोचे अनुरुपको तथ्यांक संकलन भएको छैन । जसकारण महानगरका अधिकारीहरु विवरण संकलन मिति बढाउने तरखरमा छन् । राष्ट्रिय परिचय पत्रमा भएका विवरणहरु ‘रिडेबल मेसिन’ मार्फत् हेर्न सकिन्छ । आर्थिक वर्ष २०७७÷७८ मा राष्ट्रिय परिचय पत्रका लागि १ करोड तथ्यांक संकलन गर्ने सरकारको लक्ष्य छ । यद्यपि राष्ट्रिय परिचयपत्र नागरिकको हात यकिन कहिले पर्छ भन्नेमा अधिकारीहरु स्वय जानकार छैनन् ।