- सौगात पोखरेल
करिब बर्ष दिन अगाडीको कुरो हो । परिचय डटकमका प्रधान सम्पादक सुरेश रानाभाटले कवि राजेन्द्र पौडेलसँग चिया खाने मेसोमेलो जुराएका थिए । यद्यपी राजेन्द्र पौडेल सरसँगको चिनजान भने पुरानो नै हो । कास्कीको कालिकामा जन्मिएर आलु बेच्न पोखरा झर्ने पौडेलसँग भुँईमान्छेका बारेमा केहि छलफल गर्न मेसो मिलेको थियो । पौडेलाई सधैजसो शहरले भुइँ मान्छेलाई गिज्याए झै लाग्दो रहेछ ।
पौडेल भन्छन–‘शहरले सधै सर्वहाराहरुलाई लखेटिरहेको हुन्छ । नपत्याए हेर्नु न आफ्नो आङमा डोको बोकेर भातको जोहो गर्न बजारतिर दुगुरी रहेका मजदुरहरुलाई कसरी लखेट्छ नगर प्रहरी ? तर त्यहि ठाउँमा आगमन नै प्रभावित हुने गरी राखिएका गाडीहरुलाई त केहि गर्दैन ।’ कुरा गम्भिर लाग्यो ।
देशमा कम्युनिष्टको सरकार छ तर श्रमजीवी जनताले कतै त्यसको अनुभुति हुन सकेको छैन । हिजो राजेन्द्र पौडेलसँगै पोखरा महा नगरपालिकाका मेयर मान बहादुर जिसि पनि आलु बेच्न पोखरा झर्थे । तर तिनै जिसिले आदेश दिएर डोकोमा तरकारी र फलफुल बेच्नेहरु शहरका सडकहरुबाट लखेटिनु परेको छ । सडकहरुबाट डोकेहरु मात्र लखेटिएका छैनन् । डोकेका छोराछोरीहरुको सुन्दर भविष्य संमृद्धिको यात्राबाट परपर भागिरहेको छ ।
शहरका सडकबाट भुइँमान्छेहरुलाई पोखरा महानगरले यतिबेला सडकबाटै पार्किङ शुल्क अशुल गरिरहेछ । यो त कम्युनिष्ट सरकारको उल्टो यात्रा भएन र ? दुखीहरुलाई दुरदुर लखटिरहेको सरकारले कस्तो खालको संमृद्धि ल्याउन खोजेको हो ?मेरो सानो मगजले बुझेन । तपाईंहरुले बुझेको भए भनिदिनुस ।
यो त सरकारको गरिबहरुमाथीको दृष्टिकोणको कुरा मात्र हो । भुइँ मान्छेलाई हेर्ने हाम्रो आफ्नै धरातल पनि कमजोर छ । मलाई एक पटकको चिया गफमा एक जना साथीले भनेका थिए । तँलाई तेरो घर छेउँमा तरकारी बेच्ने मान्छेको नाम थाह छ ? तँलाई तेरो कपाल काटिदिनेको नाम थाह छ ? घर दुधको भाँडो बोकेर ल्याउनेको नाम थाह छ ? यी प्रश्नहरुले सधै घोचिरहन्छ मलाई । यो प्रश्नहरुले तपाईंलाई पनि घोच्ला ।
यस्तै प्रश्नहरुसहित आजबाट गन्थन डटकममा प्रारम्भ भएको छ भुइँमान्छे श्रृंखला………