विद्यालयमै वडा कार्यालय हुँदा पठनपाठनमा समस्या

तनहुँ संवादाता ।
गाउँभरि खोज्दा पनि कोठा पाउन नसकेपछि देवघाट गाउपालिका वडा नम्वर २ को कार्यालय विद्यालयबाटै संचालन गरिएको छ ।

२ नम्वर वडाको ब्यागन स्थित सर्वोदय आधारभुत विद्यालयको भवनमा रहेको एउटा कोठाबाट वडा कार्यालयले तीन वर्ष अघिदेखि नै सेवा दिँदै आएको हो ।

०७४ साल साउन १८ गतेदेखि विद्यालयमै वडा कार्यालय राखेर स्थानीयलाई सेवा दिँदै आएको वडाध्यक्ष पोलबहादुर आलेले बताए ।

उनले भने ‘वडा कार्यालय स्थापना गर्नको लागि गाउँमा घर खोजिएको थियो । तर, गाउँभरि खोज्दा पनि वडालाई हुने कोठा प्राप्त गर्न सकिएन ।’

घर भाडामा लिनको लागि हामीले गाउँका सबैको घरमा खोजी गरेका थियौ.। तर कतैपनि पाउन नसकेपछि विद्यालयले एउटा कोठा उपलव्ध गराएको उनले बताए ।

‘सबैलाई पायक पर्ने ठाउँ व्यागन नै हो त्यसैले जता सजिलो भयो त्यहीँ कार्यालय राख्न पनि भएन । भुगोललाई हेर्दा उपयुक्त ठाउँ व्यागन भएपनि कोठा नपाउँदा समस्या भयो । त्यसैले अन्यत्र कतै विकल्प नभएपछि विद्यालयमै वडा कार्यालय राख्न बाध्य भयौ,’ उनले भने ।

यता वडा कार्यालय राखिएपछि स्थानीयलाई त सहज भएको छ तर विद्यार्थीको पढाइमा भने समस्या भएको सर्वोदय आधारभुत विद्यालयका प्रधानाध्यापक टेकबहादुर थापाले बताए ।

त्यतिबेला वडा कार्यालयले कतै कोठा पाएन त्यसपछि एक वर्षको लागि हामीले कार्यालय राख्नको लागि एउटा कोठा उपलव्ध गरायौ तर अहिले समस्या भएको छ । एउटै भवनमा वडा कार्यालय र विद्यार्थी छन् सेवाग्राहीहरु कार्यालयमा विभिन्न काम लिएर आउँछन् कहिलेकाही त निकै भिड बढ्छ जसले गर्दा बालबालिकाको पढाइमा समेत असर पर्ने गरेको उनले बताए ।

वडाको वैठक बस्दा पनि समस्या हुने गर्छ भने विद्यार्थीको पढाइमा समेत बाधा पर्छ तर अन्य कतै विकल्प नभएपछि पढाइ प्रभावित नै भएपनि विगत तीन वर्षदेखि विद्यालयबाटै वडाले सेवा दिँदै आएको छ । वडा कार्यालयमा धेरै सेवाग्राही आउँदा भिडभाड र होहल्ला हुन्छ जसले गर्दा विद्यार्थीको पढाइसमेत प्रभावित हुन्छ ।

‘काम लिएर सेवाग्राहीहरु आउनुहुन्छ हल्ला नगरिकन बस्न आग्रह गर्छौ तैपनि अलिअलि हल्ला हुन्छ,’ वडाध्यक्ष आलेले भने, ‘हल्ला भएपछि पढिरहेका विद्यार्थीको ध्यान पनि बाहिर केन्द्रित हुन्छ ।’

दैनिक बाइस पच्चिस जना स्थानीयहरुले वडामा विभिन्न काम लिएर आउछन् । एकातिर बालबालिकाको पठनपाठनमा समस्या छ भने अर्कोतर्फ वडाको आफ्नै समस्या छ । वडाको बैठक वस्दा विद्यार्थीबाट हल्ला हुन्छ भने विद्यार्थीको पढाइ हुँदा वडामा आउने सेवाग्राहीबाट हल्ला हुने गरेको छ । विद्यालयमा खेलमैदान साँघुरा भएकाले पनि भिडभाड बढेको देखिन्छ ।

निर्माणको अन्तिम चरणमा

गाउँपालिकाले वडा कार्यालय स्थापना गर्नको लागि २ नम्वर वडाको व्यागनमा वडा कार्यालय भवन निर्माण गरिरहेको छ । व्यागन, तालबारी, कराँदी, छेराङ कोटबैदी, सिम्ले, खाल्टेलगायतका स्थानीयहरुलाई पायक पर्ने गरी वडा कार्यालय निर्माण गरेको हो । ८० लाख रुपैयाँ लागतमा निर्माण थालिएको दुई तले भवनको ५० प्रतिशत काम सम्पन्न भएको वडाध्यक्ष आलेले बताए । नयाँ बन्दै गरेको भवन ट्वाइलेट बाथरुमसहित सुविधासम्पन्न हुनेछ । ‘भवन निर्माण छिटो सक्नको लागी निर्मााण प्रकृयालाई तीव्रता दिएका छौ । २०७८ बैसाखमा सर्ने तयारीका साथ काम गरिरहेका छौं,’ उनले भने ।

कमेन्टहरु
Loading...