माघीमा थारू संग्रहालय अवलोकन गर्ने बढे

दाङ । दाङको थारू संग्रहालय अवलोकन गर्नेको संख्यामा वृद्धि भएको छ ।

थारूको परम्परालाई हेर्न माघीको अवसरमा संग्रहालय पुग्नेको भीडभाड बढेको हो । दंगीशरण गाउँपालिका–३ चखौरास्थित संग्रहालय पुग्नेको संख्या थामी नसक्नु रहेको महतवा महासंघका केन्द्रीय अध्यक्ष तथा संग्रहालय निर्माणका पहलकर्ता डिल्लीबहादुर चौधरीले बताएका छन् । लुम्बिनी प्रदेशसभा सदस्यसमेत रहेका चौधरीले भने, ‘हामीले थारूको कला, संस्कार, संस्कृति तथा परम्परालाई जोगाउन यो संग्रहालयलाई निर्माण ग¥यौं, अहिले कला, संस्कार, संस्कृति बुझ्न माघीको अवसरमा यहाँ आउनेको संख्या निकै धेरै रहेको छ ।’

माघ १ गते करिब तीन हजारको हाराहरीमा संग्रहालय अवलोकन गरेको थियो भने माघ २ गते करिब ५ हजारले अवलोकन गरेको उनले जानकारी दिएका छन् । माघीको अवसरमा झनै धेरैले अवलोकन गरेको उनको भनाई छ ।

थारू समुदाय मात्रै नभई हरेक समुदायले थारू संग्रहालय अवलोकन गर्ने गरेको भन्दै यसले थारूको कला, संस्कृति, परम्परा जीवन्त राख्न मद्दत पुग्ने उनको भनाई छ । संग्रहालयमा थारू संस्कृति, परम्परा, कलासँग जोडिएका चित्र, मूर्ति, नक्सा, पोशाक, गहना र परम्परागत सामग्री राखिएका छन् । थारू जातिका परम्परा, नाचगान, चाडपर्व र सामाजिक जीवन झल्किने चित्र घरको भित्तामा सजिएका छन् ।

यस्ता सामग्री हेर्नका लागि दिनप्रतिदिन मानिसको घुइँचो लाग्ने गरेको छ । थारू गाउँको झल्को दिने परम्परागत घर, कोठा र देउता पनि राखिएको छ । थारू समुदायका पुराना गहना र कपडा पनि संकलन गरिएका छन् ।

थारू राजाले कसरी राज्य सञ्चालन गरेका थिए भन्ने झल्काउन मूर्ति र नक्सा कोरिएको छ । नेपालका सबै थारूको इतिहास संरक्षण हुने गरी संग्रहालय निर्माण गरिएको प्रदेशसभा सदस्य चौधरीले बताएका छन् ।

संग्रहालय राना, डंगौरा, देउखुरी, चितवन, कैलाली, कञ्चनपुर मोरङलगायत सबै ठाउँका थारूको संस्कृति र इतिहास एकै ठाउँमा देख्न पाइन्छ । यी सबै सामान नेपालका थारू बाहुल्यता भएको ठाउँबाट संकलन गरी ल्याएको उनको भनाई छ ।

यसलाई थारू जातिको अध्ययन र अनुसन्धानको केन्द्र बनाउने गरी तयारी थालिएकोसमेत उनको भनाई छ । थारू जातिमा मान्छे मरेपछि घरका सबै सामान फाल्ने चलन रहेकाले केही परम्परागत सामग्री भेट्टाउनसमेत मुस्किल परेको उनले बताएका छन् ।

सो संग्रहालय ५ बिघा क्षेत्रफलमा निर्माण भएको संग्रहालय सञ्चालक समितिका संयोजक नरेन्द्र चौधरीले बताए । जसमा अहिले ५० करोड बढीका संरचना थप गरिएको छ । पहिलोपटक दाङमा थारूको आफ्नै पुर्खाको मूर्ति बनाएर संग्रहालयमा प्रदर्शनका लागि राखिएकाले यसले दाङ जिल्ला धेरै पाठ सिकाउने उनको भनाई छ । रासस

कमेन्टहरु
Loading...