गरिबको चमेली बोल्दिने कोही छैन …

उल्लेखित हेडलाइन जनवादी गीतको एक पंक्ति हो । जसको रचना र संगीत रामेश र मञ्जुलले गरेका हुन् भने स्वर मञ्जुलको रहेको छ । पञ्चायतकालको भूमिगत दुनियाँमा निकै सुनिने यो गीत चलचित्र बलिदानमा पनि राखिएको छ ।

गन्थन डेस्क

सहरमा सडकका पेटी छेउ र फुटपाथमा बसेर जीविकोपार्जन गर्नेको संख्या बाक्लै छ । थोरै लगानीमा खुद्रा सामान बेचेर परिवार पाल्नेहरुलाई सहरको सौन्दर्य सत्यानाशा पारेको आरोपमा नगर प्रहरीले डन्ठा लगाएको दृश्य पोखरामा पनि देख्न पाइन्छ ।

फुटपाथमा पसल र नगर क्षेत्रमा भेटिने साइकल र ठेलालाई प्रहरीले नियन्त्रणमा लिँदै ‘पच’ बनाउने सिलसिला नरोकिँदा गरिबको भागमा आँशुमात्रै परेको छ । गत मंगलबार राजधानीको सुकेधारा क्षेत्रमा यस्तै दृश्य देखिएको छ ।

नगर प्रहरीले दलबलकासाथ मिनी ट्रकसहित पुगेर मञ्जरी क्षेत्री कुँवरको ठेला नियन्त्रणमा लिएर गाडीमा कोच्यो । ‘गरिखाने ठेला’ र त्यहाँ भएको तरकारीसहित नियन्त्रणमा लिने क्रममा मञ्जरीलाई नगर प्रहरीले लछारपछार पनि ग¥यो । उनले ठेला जोगाउन सकेको बल लगाइन् । नसकेपछि सडकमै रोइन्, चिच्याइन् ।

जति बिलौना पोखेपनि राज्यले उनको चीत्कार सुनेन । मञ्जरीले बताए अनुसार उनले त्यसदिन १५ सय रुपैयाँको साग र तरकारी ल्याएकी थिइन् । बिहान बेचेर बचेको तरकारी बेच्न बेलुकीतिर निस्कँदा उनी नगर प्रहरीको एक्सनमा परिन् ।

ठेला फिर्ता लिन जाँदा उनले पाइनन् । यसर्थ, उनकै गाँसै खोसियो । लोकको तन्त्रमा निरिह उनलाई सहयोग गर्न केही मनकारी जुटेका छन् । उनको दुख सामाजिक सञ्जालमार्फत बाहिरिएपछि अहिले सहयोग जुट्दैछ ।

‘हेल्प मञ्जरी’ अभियानमार्फत हालसम्म ५ लाख रुपैयाँ संकलन गरी उनलाई हस्तान्तरण गरिएको छ । अभियन्ताका अनुसार मञ्जरीलाई अझै सहयोग आइरहेको जनाइएको छ । त्यस्तै, उनलाई जागिरको समेत व्यवस्था गरिएको अभियन्ता भीम उपाध्यायले बताएका छन् ।

कमेन्टहरु
Loading...