एजेन्सी । इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भुकम्प गएको छ । यस भुकम्पमा परी कम्तीमा ३४ व्यक्तिको ज्यान गएको प्रारम्भिक जानकारी दिएको छ ।
यस भुकम्पमा परेर १ अस्पताल र कयौं भवन भत्किनुको साथै र क्षतिग्रस्त भएको बताइएको छ । बिहान सबेरै आएको यस भुकम्पमा परी सुलावेसी द्वीपका सयौं व्यक्ति घाइते भएका जनाइएको छ । यस द्वीपमा साढे २ वर्षअघि आएको भुकम्प र सुनामीमा परी हजारौं व्यक्तिको ज्यान गएको थियो । सुलावेसी द्वीपको मामुजु सरहमा मात्र यस भुकम्पको कारण २६ जनाको ज्यान गएको त्यहाँको प्रकोप नियन्त्रण विभागका प्रमुख अलि रहमान बताएका छन् । भवनको भग्नावशेषमा अझै पनि व्यक्तिहरु पुरिएको अनुमान गरिएको छ ।
त्यसैगरी मामुजु सहरबाट निकै टाढा रहेको दक्षिणी क्षेत्रमा भुकम्पको कारण ८ जना व्यक्तिको ज्यान गएको छ । दुवैतर्फ गरी ३४ जनाको ज्यान गएको प्रकोप नियन्त्रण विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।
उद्धारकर्ताले मामुजु अस्पतालको भग्नावशेषमा उद्धारकार्य जारी राखेका बताइएको छ । यस अस्पतालको भग्नावशेषमा बिरामी र अपस्पालका कर्मचारी गरी करिब १० जना पुरिएका अनुमान गरिएको छ ।
भुकम्पको कारण भएको धनजनको क्षतिलगायतका विस्तृत विवरण भने प्राप्त भएको छैन । अहिले प्रभावित क्षत्रेमा उद्धारकर्मी पुगेका छन् । सन् २०१८ मा इन्डोनेसियाको सुलावेसी र पालुमा आएको ७.५ म्याग्निच्युडको भुकम्प र त्यसपछिको सुनामीमा परी ४ हजार ३ सयभन्दा बढी व्यक्तिको ज्यान गएको थियो । सन् २००४ को डिसेम्बर २६ मा गएको ९.१ म्याग्निच्युडको भुकम्प र त्यसपछि आएको शक्तिशाली सुनामीमा परी २ लाख २० व्यक्तिको ज्यान गएको थियो । त्यसमा १ लाख ७० हजार इन्डोनेरियाली नागरिक थिए । रासस