तनहुँ संवाददाता । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले अव्यवस्थित बसोबासको समस्या सबैभन्दा जटिल भएको बताएका छन् । उनले वैज्ञानिक ढंगले यस समस्याको समाधान आवश्यक रहेको बताए । शुक्लागण्डकी नगरपालिकाले आयोजना गरेको भुमिसम्बन्धि समस्या समाधान आयोग प्रशिक्षण कार्यक्रममा मन्त्री गुरुङले सो कुरा बताएका हुन् ।
भुमिहिनको समस्या साझा भएकोले वास्तविक सुकुम्बासीहरुको समस्या न्यायिक ढंगबाट निरुपण गर्नुपर्नेमा उनले जोड दिए । उनले इमान्दारितापुर्वक काम गर्नुपर्ने बताउँदै भने,‘स्थानीय तहलाई पनि ठुलो जिम्मेवारी छ । नातावाद कृपावाद नभनिकन साझा ढंगबाट समस्या समाधान गर्न अनुरोध छ ।’
तनहुँका दश स्थानीय तहमध्ये भुमिसम्वन्धि समस्या सबैभन्दा वढी शुक्लागण्डकी नगरपालिकामा छ । लामो समयदेखि यहाँका सर्वसाधारण लालपुर्जा पाउने आशामा छन् । मंगलबार नगरपालिकाको सभाहलमा जनप्रतिनिधी र कर्मचारीलाई समस्या समाधानका लागि आयोगका सदस्य एकवहादुर रानाले प्रशिक्षण दिएका थिए ।
उनले यसै वर्षको अन्त्य सम्ममा भुमिहिनलाई पुर्जा प्रदान गर्ने तयारीले काम भइरहेको बताए । प्रशिक्षण कार्यक्रमको अध्यक्षता गरेका मेयर किसान गुरुङले भाषण भन्दा पनि काम गरेर देखाउनु पर्ने धारणा व्यक्त गरे । ‘भुमिहीन, अव्यवस्थित बसोबास तथा सुकुम्वासीहरुको समस्या समाधानका लागि स्थानीय तहले सक्दो सहयोग गर्छ,’ उनले भने ।