हुम्लाको सिटिजन बैैंक सिल, कोरोना संक्रमितलाई जिल्लाबाहिर पठाउने तयारी

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिटिजन बैंक शाखा कार्यालय सिल गरिएको छ । बैंकमा कार्यरत ५ कर्मचारीलाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा दुई कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आइतबारदेखि सिल गरिएको हो । शनिबार २ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आइतबारदेखि सिटिजन बैंक शाखा कार्यालय सिमकोट सिल गर्नुका साथै कारोबार ठप्प भएको बैंकले जानकारी दिएको छ । १ जना महिला र १ जना पुरुष कर्मचारीमा कोरोना संक्रमण देखिएपछि २ दिनका लागि बैंक सिल गरिएको हो ।

पुरुष कर्मचारीमा देखिएको कोरोना संक्रमणको उपचार यहाँ हुन नसकेपछि उनलाई जिल्लाबाहिर पठाउने तयारी भइरहेको सिटिजन बैंकका कर्मचारी लालु भण्डारीले जानकारी दिएका छन् । संक्रमित कर्मचारीको अवस्था जटिल देखिएपछि हेलिकप्टरमार्फत जिल्लाबाहिर पठाउने तयारी भइरहेको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिएका छन् ।

जिल्लामा संक्रमित कर्मचारीको उपचार सम्भव नभएपछि उद्धारका लागि हेलिकप्टर मागको लागि पहल भइरहेको फडेराले बताए । जिल्ला अस्पताल हुम्लाले जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी तथा भीडभाड बढी हुने कार्यालयमा कार्यरत कर्मचारीको कोरोना परीक्षण गर्दै आएको जिल्ला अस्पतालका सूचना अधिकारी फडेराले जानकारी दिएका छन् । रासस

कमेन्टहरु
Loading...