लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ३ खुदी बजारमा किसानले उत्पादन गरेका कृषि सामाग्रीको बजारीकरणका लागि कृषिबजार केन्द्र स्थापना गरिएको छ ।
किसानलाई व्यावसायिक रुपमा कृषि पेशामा प्रोत्साहित गर्न कृषि उपज संकलन केन्द्रको अवधारणा ल्याइएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनका अनुसार गण्डकी प्रदेश सरकार र गाउँपालिकाको लगानीमा संकलन केन्द्र निर्माण गरिएको हो ।
गाउँपालिकामा कृषि बजार केन्द्र स्थापना भएपछि अब किसानले उत्पादन गरेको कृषि सामाग्रीले बजार अभावमा खेर नजाने र ‘किसानले उत्पादन गरेका तरकारी, फलफुल, नगदेबाली, दुग्धजन्य सामाग्री, र पशुजन्य खसी बोका कुखुरा लगायतका सामाग्री केन्द्रमा राखिने गाउँपालिका अध्यक्ष गुरुङको भनाई छ । ‘केन्द्रमार्फत् बिक्री वितरण गरिन्छ, यसले गर्दा कृषिजन्य सामाग्रीले बजार नपाउने समस्या हुँदैन ।’ गुरुङले भने ।
किसानले बजार नपाएको भनिरहेको समयमा केन्द्र बनाएर किसानलाई सहज बनाएको छ । गण्डकी प्रदेश सरकारको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लगानिमा कृषि बजार केन्द्रको भवन र चिस्यान केन्द्र निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
२९ लाखमा कृषि बजार केन्द्रको भवन र १६ लाख लगानीमा चिस्यान केन्द्र निर्माण गरिएको हो । मस्र्याङ्दी बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडमार्फत कृषि बजार केन्द्र संचालन हुने संस्थाका अध्यक्ष विरेन्द्रबहादुर भण्डारीले बताएका छन् ।