तनहुँ । १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गरिने भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गतको २ सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि आयोजनाले तनहुँतर्फ उक्त जग्गा अधिग्रहण गर्न लागेको हो । टावर पर्ने जग्गा अधिग्रहणका लागि १५ दिने सूचना प्रकाशित गरिएको छ ।
आयोजनाका प्रमुख अच्युत घिमिरेले ६० वटा कित्ताका जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढेको जानकारी दिएका छन् । ‘टावर राख्नका लागि ५३ व्यक्तिको जग्गा अधिग्रहण गर्नुपर्ने भएको छ, जग्गा प्राप्तिका लागि सूचना प्रकाशित भइसकेको छ ।’ घिमिरेले भने ।
घिमिरेका अनुसार जग्गाको रकम निर्धारणका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले अध्ययन सुरु गरेको छ । ‘स्थानीय तह, मालपोत कार्यालय, सम्बन्धित क्षेत्रमा रहेका बैंकसँग जग्गाको चलनचल्तीको दर बुझ्ने काम भइरहेको छ ।’ घिमिरेले भने, ‘उपसमितिले अध्ययन सकेपछि प्रतिवेदन मूल समितिसमक्ष पेश गर्नेछ ।’ प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले प्रतिवेदन अध्ययन गरेर जग्गाको मुआब्जा निर्धारण गर्नेछ ।
आयोजनाको प्रसारण लाइन निर्माणका क्रममा टावर राख्नका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गरिनेछ भने तार तान्नका लागि २१ हेक्टर क्षेत्रफललाई क्षतिपूर्ति दिइने घिमिरेले बताए । उनले भने, ‘क्षतिपूर्ति तिर्ने जग्गा सम्बन्धित व्यक्तिको हुन्छ, उक्त जग्गामा संरचना निर्माण गर्न भने पाइने छैन ।’ प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनतर्फका वन क्षेत्रमा पर्ने रुख कटान हुनेछन् ।
तनहुँतर्फ ३० हेक्टर वन क्षेत्रको रुख कटान गर्नुपर्ने र त्यसका लागि फाइल वन विभागमा पठाइएको छ । ‘तनहुँतर्फको वन क्षेत्र टुंगो लागेर सहमतिका लागि विभागमा पठाएका छौं, चितवनतर्फको भने बाँकी छ ।’ घिमिरेले भने ।
दमौलीबाट भरतपुरसम्म २ सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । चालु आर्थिक वर्षमा प्रसारण लाइनका लागि ३० टावर निर्माण गरिनेछ । प्रसारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गतको विद्युत्गृहको काम पनि भइरहेको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको ‘केवल टनेल’को काम पूरा भएसँगै विद्युत्गृहको काम भइरहेको घिमिरेले बताएका छन् । आयोजनाको दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले विद्युतगृहका लागि ‘केवल टनेल’ खन्ने काम सुरु गरेको थियो । सिनोले आयोजनाको प्याकेज २ अन्तर्गतको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ ।
पहिलो प्याकेजअन्तर्गतका कामका लागि ३ कम्पनीको बोलपत्र परेको र ती बोलपत्रउपर मूल्यांकनको काम भइरहेको आयोजनाले जनाएको छ । पहिलो प्याकेजअन्तर्गत १ सय ४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने २ वटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गरिनेछ । आयोजनाका लागि १ सय ४० मिटर बाँध, १ हजार सय ६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगत विद्यृतगृह निर्माण गरिनेछ ।
खुद उचाइ १ सय २१ मिटर रहने आयोजनाबाट सुक्खायामा १ सय ७८.९० मेगावाट र वर्षायाममा ३ सय २३.६८ मेगावाट ऊर्जा उत्पादन हुनेछ । आयोजनाको कूल लागत ५० करोड ५० लाख अमेरिकी डलर (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ । जाइकाले दोस्रो प्याकेजअन्तर्गतका कामका लागि १८ करोड ४० लाख डलर व्यहोर्ने छ । रासस