काठमाडौं । अमेरिकी संसदको दुबै सदनले राष्ट्रपतिमा विजयी डेमोक्रेट उम्मेदवार जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसको जीत सदर गरेको छ ।योसँगै अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनको जितले अन्तिम औपचारिकताको मार्ग पूरा गरेको छ ।
हार स्विार गर्न नसकेका राष्ट्रपति डोनल्ड ट्रम्प प्रोत्साहित उदण्ड भीडले संसद भवनमा गरेको आक्रमणका बाबजुद चलेको संसदको संयुक्त बैठकले बाइडन र ह्यारिसको जीतलाई प्रमाणित गरेको हो ।
अमेरिकी संविधानको व्यवस्थाअनुसार ६ जनवरीका दिन बोलाइएको संसदको दुबै सदनको संयुक्त बैठकमा प्रत्येक राज्यबाट मिलेको जीतलाई औपचारिक रुपमा प्रतिनिधिहरुले सदर गरेका हुन् ।
दुबै सदनले पेनसिलवेनिया र एरिजोनामा मतगणनाको विषयमा दर्ता गराइएको आपत्तिलाई पनि खारेज गरिदिएको छ । इलेक्टोरल मतबारे नेभाडा, मिशिगन, विस्कन्सिन र जोर्जियाका सांसद्हरूको चुनौती भने सिनेट सदस्यको हस्ताक्षरको अभावमा तुहिएको थियो ।
उपराष्ट्रपति एवं सिनेटका अध्यक्ष माइक पेन्स र प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीको उपस्थितिमा गरिएको परिणाम सदर सभामा बाइडनको पक्षमा ३०६ र ट्रम्पको पक्षमा २३२ इलेक्टोरल मत परेको पुष्टि गरिएको थियो ।
राष्ट्रपति पदमा निर्वाचित हुन २७० इलेक्टोरल मत आवश्यक पर्दछ । संसदले प्रमाणीकरण गरेसँगै राष्ट्रपति बाइडेन र उपराष्ट्रपति ह्यारिसले जनवरी २१ देखि आफ्नो कार्यभार सम्हाल्ने छन् । राष्ट्रपति ट्रम्पका समर्थकले मच्चाउन सक्ने दंगालाई मध्यनजर गर्दै वासिङ्टन डिसी शहरमा जनवरी २१ सम्म संकटकाल पनि लगाइएको छ ।
यसैबीच संसदले बाइडेनको जीतलाई प्रमाणिकरण गरेलगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले वक्तव्य जारी गरेर जनवरी २० मा सत्ताको सहज हस्तान्तरण हुने उल्लेख गरेका छन्। उनले हार स्वीकार गरेपनि चुनावको नतिजामा आफ्नो विमत्ति रहेको उल्लेख गरेका छन्।