पोखरा । ब्रेल लिपिका आविष्कारक लुइस ब्रेलको २ सय १२ औं जन्मजयन्ती तथा विश्व ब्रेल दिवस २०२१ को अवसरमा कास्कीमा विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । कास्की नेत्रहीन संघको आयोजना एवं हेल्पिङ हेन्ड्सको सहयोगमा स्वस्थ्य चेतनामूलक कार्यक्रमअन्तर्गत मास्क, स्यानिटाइजर तथा ब्रेल सामग्री प्लेट, स्टाइलस, ब्रेल पेपर, दृष्टिविहीनमैत्री क्रिकेट ब्याट र बल तथा लुँडोलगायतका विभिन्न सामग्री वितरण गरिएको हो ।
सो अवसरमा पोखराको अमरसिंह माध्यमिक विद्यालय दृष्टिविहीन शाखा, कुँडहर आधारभूत विद्यालय दृष्टिविहीन शाखा र दीप गार्डेन रेष्टुरेन्टमा छुट्टाछुट्टै स्थानमा भएको कार्यक्रममा १ सय न्युन दृष्टि भएका व्यक्ति (दृष्टिविहीन) लाई उक्त सामग्री वितरण गरिएको नेत्रहीन संघ कास्कीका अध्यक्ष श्रीकान्त सापकोटाले जानकारी दिए । संघले ब्रेलको व्यापक विकास र दृष्टिविहीनको मातृलिपिका रूपमा रहेको ब्रेलको मान्यता र प्रयोगमा थप पहल गर्नुपर्ने कुरा औंल्याउँदै उनले ६० वर्षमाथिका दृष्टिविहीनका लागि घरमै सेतो छडी पुर्याउने विश्वास व्यक्त गरे ।
सीमित स्रोतसाधनका बाबजुद पनि तीनै तहका सरकार, विभिन्न संघसंस्था एवं व्यक्तिको समन्वयका कारण अन्धकारमा रुमलिएका दृष्टिविहीनको केही हदसम्म भए पनि हकहित र अधिकारको संरक्षणमा संघले महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै अध्यक्ष सापकोटाले विद्यालय तहका दृष्टिविहीन विद्यार्थीलाई ब्रेल पाठ्यपुस्तकबाट वञ्चित हुन नदिने पहल भइरहेको बताएका छन् ।
राष्ट्रिय अपांग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खुमराज शर्माले दृष्टिविहीनको विचार अभिव्यक्ति र स्वतन्त्रताको प्रतीक ब्रेललिपि र दृष्टिविहीनमैत्री प्रविधि विकासमा दिलोज्यान दिएर लाग्ने बताएका छन् । पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष शोभामोहन पौडेलले दृष्टिविहीनलाई स्वास्थ्य सामग्री वितरण गर्दै महानगर र कास्की नेत्रहीन संघको समन्वयमा वर्तमानमा देखिएका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान आकस्मिक विभागका इन्चार्ज डा अंगना पराजुली र मेडिकल अफिसर सुदेसना अधिकारीले दृष्टिविहीनका लागि मास्क लगाउने तथा हात धुने तरिका र कोभिडबाट बच्ने उपायका बारेमा प्रयोगात्मकरूपमा सहजीकरण गरेका थिए । कास्की नेत्रहीन संघका सहसचिव सुनीता ज्ञवाली, श्रवण दृष्टिविहीन पुष्पराज रिमाल, हेल्पिङ हेन्ड्सका अध्यक्ष दिनेशकुमार थापा, राष्ट्रिय अपांग महासंघ गण्डकी प्रदेशका अध्यक्ष तथा नेपाल नेत्रहीन संघका केन्द्रीय सचिवालय सदस्य खुमराज शर्मालगायतले ब्रेललिपिको आवश्यकता र सान्दर्भिकता एवं कोभिड महामारीमा दृष्टिविहीनका स्वास्थ्य चुनौतीबारे प्रकाश पारेका थिए ।
सन् १८०९ जनवरी ४ मा फ्रान्सको कुप्रवेमा दृष्टियुक्त जन्मिई ३ वर्षमा दृष्टिशक्ति गुमाएका लुइस ब्रेलले ब्रेललिपिको आविष्कार गरेका थिए भने नेपालमा स्व जंगबहादुर बोगटीले विसं २०१८ मा नेपालमा ब्रेल भित्र्याएको पाइन्छ । रासस