तनहुँ । स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी गत वर्ष असोजमा समायोजनको क्रममा अन्यत्रै सरुवा भएर गएपछि कैदीबन्दी नियमित स्वास्थ्य उपचारको सेवाबाट बञ्चित भएका हुन् ।
तनहुँ कारागारमा एक जना स्वास्थ्य सहायक (एचए) दरबन्दीको स्वास्थ्यकर्मी कार्यरत रहेकामा उनी गत वर्षको दसैं अगाडि नै समायोजनको क्रममा अन्यत्रै गएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिएका छन् । ‘समायोजन भएर गएपछि अर्काे स्वास्थ्यकर्मी नआउँदा कैदीबन्दी नियमित स्वास्थ्य परीक्षणबाट बञ्चित भएका छन् ।’ अधिकारीले भने । अहिले कारागारमा अहेवको दरबन्दी कायम भएको तर स्वास्थ्यकर्मी भने नआइपुगेको अधिकारीले बताए । स्वास्थ्यकर्मी नहुँदा सामान्य उपचारका लागि पनि कैदीबन्दीलाई दमौली अस्पतालमा लैजानुपर्ने बाध्यता छ । ‘सामान्य स्वास्थ्य समस्या भएकालाई पनि अस्पताल लैजानुपर्ने बाध्यता छ ।’ उनले भने ।
चिसो बढेपछि कैदीबन्दीमा विभिन्न स्वास्थ्य समस्या देखिन थालेको तर कारागारमा स्वास्थ्यकर्मी नहुँदा उनीहरुलाई उपचार र स्वास्थ्य परीक्षणका लागि दमौली अस्पतालसम्म लैजानुपरेको अधिकारीले बताएका छन् । १ सय ५ जना क्षमताको कारागारमा १ सय ८७ कैदी र ८२ थुनुवा गरी २ सय ६९ छन् । क्षमताभन्दा धेरै राख्नुपर्दा र एकापसमा टाँसिएर सुत्नुपर्दा कैदीबन्दीमा छालासम्बन्धी रोग देखिने गरेको अधिकारीले बताएका छन् ।
त्यसबाहेक रुघाखोकी र भाइरल ज्वरोजस्ता स्वास्थ्य समस्या कैदीबन्दीमा देखिन थालेको अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार विभिन्न रोगका कारण दैनिक ४/५ कैदीबन्दीलाई स्वास्थ्य परीक्षणका लागि दमौली अस्पताल लैजाने गरिएको छ । कारागारको आफ्नै सवारी साधन नहुँदा जिल्ला प्रहरी कार्यालयबाट सवारी साधन मगाएर मात्र कैदीबन्दीको स्वास्थ्य परीक्षणका लागि लैजाने गरिएको छ ।
कारागारमा पुस्तकालय स्थापना
कैदीबन्दीलाई समयको सदुपयोगसँगै चेतना वृद्धिमा सहयोग पु¥याउन टिम नेपोले कारागार तनहुँमा पुस्तकालय स्थापना गरेको छ । ज्ञान रचेतना अभिवृद्धि गराउन टिम नेपोले कारागारमा पुस्तकालय स्थापना गरेको हो । पुस्तकालयसँगै संस्थाले १ हजार ५ सय पुस्तक र दराज सहयोग गरेको छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले प्रमुख जिल्ला अधिकारी सागर आचार्य, निमित्त जेलर नारायण अधिकारीलाई पुस्तक हस्तान्तरण गरे ।
सो कार्यक्रममा नगरप्रमुख न्यौपानेले पुस्तकालय स्थापनासँगै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । उनले विभिन्न कारणले कारागार आइपुगेका कैदीबन्दीलाई विभिन्न ज्ञानका कुरा सिक्न पुस्तकले सहयोग पुग्ने न्यौपानेले बताए । ‘युवाको सक्रियतामा रचनात्मक कामको शुरुआत गरिएको छ ।’ उनले भने । प्रमुख जिल्ला अधिकारी आचार्यले कारागारमा स्थापना गरिएको पुस्तकालयले कैदीबन्दीलाई सिर्जनशील बनाउन सहयोग पुग्ने बताएका छन् । टिम नेपोका केन्द्रीय अध्यक्ष निगम पौडेलले पुस्तक परियोजनाअन्तर्गत तेस्रो जिल्लाको रूपमा तनहुँ कारागारमा पुस्तकालय स्थापना गरिएको जानकारी दिएका छन् ।
यस अगाडि अर्घाखाँची र स्याङ्जा कारागारमा पुस्तकालय स्थापना भइसकेको छ । ‘पुस्तकले जीवन परिवर्तन गर्न सक्छ भन्ने उद्देश्यसहित संस्थाले २ वर्ष अगाडि परियोजना सुरुआत गरेको हो ।’ उनले भने, ‘सुरुमा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गरे पनि अहिले कारागारमा अभियान सञ्चालन गरेका छौं ।’ टिम नेपो तनहुँका अध्यक्ष गोविन्द तिमिल्सनाले १ लाखभन्दा बढी मूल्यका विभिन्न पुस्तक कारागारलाई सहयोग गरिएको जानकारी दिएका छन् । रासस