एजेन्सी । न्युजिल्याण्डमा सम्पन्न पहिलो टेस्ट क्रिकेटमा न्युजिल्याण्डले भ्रमणकारी टोली पाकिस्तानलाई रोमाञ्चक ढंगबाट १ सय १ रनले पराजित गरेको छ । न्युजिल्याण्ड विरुद्ध सशक्त प्रतिरोध गरेको पाकिस्तानी टोली अन्तिम दिनको अन्तिम सत्रमा २७ बल बाँकी रहँदा अलआउट भएको थियो । खेल बराबरी हुन्छ वा न्यूजीन्यान्डले जित्छ भन्ने अन्यौलकै बीच न्युजिल्याण्ड विजयी भएको हो ।
पाकिस्तानका पुछारको क्रमका खेलाडीहरु शाहीन अफ्रिदी र नासीम शाहले झण्डै ७ घण्टा क्रिजमा बिताएका थिए ।
तर कमजोर प्रकाशमा भएको खेलमा पाकिस्तानको प्रतिरोध आखिरमा न्युजिल्याण्डका स्पिनर मिचेल सान्टनरले नासीमलाई ‘कट एन्ड बोल्ड’ गरेर समाप्त पारिदिएका थिए । यसअघि फवाद आलम र मोहम्मद रिजवानबीच पनि पाँचौं विकेटका लागि १ सय ६५ रनको महत्वपूर्ण साझेदारी भएको थियो । तर यो जोडीलाई कायले जेमिसनले तोडेका थिए ।
जेमिसनले रिजवानलाई ६० रनमा आउट गरेका थिए भने निल वाग्नरले १ सय २ रन बनाएका आलमलाई आउट गरेका थिए । पाकिस्तानले दोस्रो इनिङमा अल आउट हुँदै २ सय ७१ रन मात्र बनाएको थियो । न्युजिल्याण्डले पहिलो इनिङमा ४ सय ३१ तथा दोस्रो इनिङमा १ सय ८० रन बनाएर जितका लागि ३ सय ७३ रनको चुनौती दिएको थियो ।
जबकी पाकिस्तानी टोली पहिलो इनिङमा २ सय ३९ र २ सय ७१ रनमा अल आउट भएको थियो । यो जितसँगै २ खेलको यस टेस्ट श्रृंखलामा न्युजिल्याण्ड १–० ले अघि भएको छ । अर्को टेस्ट खेल जनवरी ३ देखि क्राइस्टचर्चमा सुरु हुनेछ । रासस