वाग्मती अध्यक्ष कप फुटबल प्रतियोगिता पुस २५ देखि

काठमाडौं । दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले यही पौष २५ देखि २९ गतेसम्म ‘वाग्मती गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता २०७७’ आयोजना गर्ने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुने सो प्रतियोगिता प्युटारस्थित खयरघारी खेलमैदानमा आयोजना हुने छ ।

युवालाई खेलकूदको माध्यमबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए । उनले भने, ‘यसले गाउँपालिकामा रहेका खेलाडिको क्षमता विकासमा सहयोग पु¥याउने छ ।’ प्रतियोगितामा प्रथम हुने समूहले पदक प्रमाणपत्र सहित रु एक लाख, दोस्रोले रु ५० हजार, तेस्रोले रु २५ हजार प्राप्त गर्नेछन् ।

भंगाहामा मेयर गोल्डकप फुटबल शुक्रबारदेखि

जलेश्वर–महोत्तरी जिल्लाको भंगहा नगरपालिकाद्वारा पाँच लाख राशीको मेयर गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । नगर प्रमुख संजीव कुमार साहले यही पुस १७ गतेदेखि प्रतियोगिता सञ्चालन हुने जानकारी दिए । उनले सो प्रतियोगिताका प्रथम विजेतालाई रु ५ लाख १ , उपबिजेतालाई रु १ लाख ५१ हजार १ रुपैया प्रदान गरिने जानकारी दिए ।

प्रतियोगितामा काठमाडौं, हेटौडा, झापा, रुपन्देही लगायतका राष्ट्रिय स्तरमा खेल्ने आठ वटा समूहको सहभागिता रहने छ । सर्वाधिक राशीको फुटबल प्रतियोगिता महोत्तरीको इतिहासमै पहिलो पटक हुने आयोजकले जनाएका छन् । प्रतियोगिताको आवश्यक तयारी पूरा भइसकेको छ ।
रासस

कमेन्टहरु
Loading...