कोरोनाले तालबाट डाँडामा उक्लियो लिटरेचर फेस्टिभल

पोखरा । पोखरालाई चिनाउने धेरै नाममध्ये एक बनेको छ लिटरेचर फेस्टिभल । अघिल्ला संस्करणमा फेवाको नीलो पानीसँगै साक्षात्कार गर्ने दर्शकहरुलाई यसपटक कोरोनाले उत्तर सराङकोटको डाँडामा पु¥याउने भएको छ । हो, फेवा केही टाढा भएको छ । तरैपनि फेस्टिभलले विश्वव्यापी संकटकै बीच पनि निरन्तरता पाउने छ ।

फेस्टिभलको नवौं संस्करण यही पुस १४ र १५ मा आयोजना हुँदैछ । भर्चुअल्लीरुपमा हुने फेस्टिभललाई अब घरमै न्यानोसँग कफी पिउँदै नियाल्न पाइने छ । महोत्सव फरक छ तर विशिष्ट हुनेछ । प्रविधिसँग जोडिन नसक्नेकालागि केही खल्लो हुने भएपनि ढिलै सही महोत्सवलाई पच्छ्याउन सकिनेछ ।

कार्यक्रममा दर्शकका उपस्थिति असम्भव भएपनि फेस्टिभलका सबै सत्र सामाजिक सञ्जाल एवम् फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट लाइभ हेर्न पाइने आयोजक संस्था बुकवर्म फाउन्डेसनले जानकारी दिएको छ ।

हरेक वर्ष जस्तै यस संस्कारणमा पनि साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्व वक्ताकारुपमा रहेका छन् । नयाँ विषयमा केन्द्रित रहेर फेस्टिभल आयोजना गर्ने तयारीमा रहेका आयोजकको चिन्ता फेस्टिभलको आयेजनासँगै दर्शकलाई कसरी उपस्थित गराउने भनेर रणनीति तयार पार्दैछन् ।

यस संस्करणमा १५ सेसन र ४० बढी वक्ता रहने छन् । संस्करणमा ‘साहित्यको अर्थ, कोरोनाकालीन उद्योग वाणिज्य, युवाको नजरमा नेपालजस्ता विषय रहनेछन् । त्यस्तै, पढ्ने हुटुहुटी, कोरोनाले गलाएको जनस्वास्थ्य, के सम्पदा के बसोबास, कर्मठ केटीहरु समेटिएको सेसन छुटाउनै नहुने विषय भएको आयोजकले जनाएको छ ।

अद्भुत व्यक्तित्वः असाधारण लेखन, तीन आख्यान, कोरोनापछिको सिनेमा, सङ्घीयताका अवसरहरु, महारानीको राजनीतिजस्ता विषयले सहभागीलाई फेस्टिभलमा खल्लो हुन नदिने आयोवक संस्थाका अजीत बराल बताउँछन् । जलवायु परिवर्तन र हाम्रो भविष्य, प्रदेशबाट देखिने देशलगायतका विषयमासमेत बहस हुनेछ । महोत्सवको पूर्वसन्ध्यामा १३ गते प्रदीप रोदनसँग अमृत सुवेदीको ‘मेहफिल’ जम्नेछ ।

९ औँ संस्करणको आर्कषण
यसवर्षको संस्करणमा आयोजकले भने जस्तै विषयवस्तु केही फरक ढंग र नयाँ स्वादमा प्रस्तुत गर्न खोजिएको छ । विषय फरक ढंगले प्रस्तुत गर्न खोजिएपनि मुख्तय विषय केही पुरानै र उहीँ स्वादका छन् । यद्यपी कोरोनाले भने आयोजकलाई नयाँ विषय दिएको छ जसलाई यसवर्षको संस्करणमा जोडिएको छ ।

संस्करणमा बहस हुने विषयमध्ये एक हो ‘कोरोनाले गलाएको जनस्वास्थ्य’ जसमा वक्ताका रुपमा डा अनुप सुवेदी र डा रोलिना धिताल रहेका छन् भने त्यसलाई सहजीकरण सोबित गौतमले गर्दैछन् ।

उसो त कोरोनाका कारण विभिन्न क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष असर सबैलाई परेको छ । कोरोनाले पारेका असर र यसपश्चात्को आर्थिक पाटो कसरी उकासीने सबैको चासो र चिन्ताको विषय हो । यस विषयले पनि फेस्टिभलमा स्थान पाएको छ । त्यस्तै कोरोना कहरका बिच प्रत्यक्ष रुपमा क्षति व्यहोर्नुपरेको मध्ये एक फिल्म क्षेत्र पनि हो ।

संस्करणको एक विषय ‘कोरोनापछिको सिनेमा’ विषयमा वक्ता निश्चल बस्नेत, भास्कर ढुङ्गाना,प्रियङ्का कार्की रहने छन् भने यसलाई सहजिकरण यज्ञशले गर्दैछन् । त्यस्तै ‘कोरोनाकालीन उद्योग वाणिज्य’ विषयमा समेत बहस हुँदै छ । जसमा वक्ता चन्द्र प्रसाद ढकाल रहेका छन् भने सहजीकरण कुवेर चालिसेले गर्दैछन् ।

त्यस्तै राजनितिक विषयवस्तुमा यसवर्ष थोरै केही नयाँपन भएपनि उही पहिलेका विषयलाई उल्टाइएको छ । गतवर्ष ‘सङ्घीयताको सकस’मा बहस भएको थियो भने यसवर्ष ‘सङ्घीयताका अवसरहरु’ विषयमा वक्ता पोखरा महानगरपालिकाका उपमेयर मञ्जु देवि गुरुङ, गण्डकी प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री किरण गुरुङ र सीता सुन्दास रहेका छन् जसलाई सहजिकरण दीपक परियारले गर्दैछन् ।

त्यस्तै अघिल्लो वर्षको ‘ कहाँ आइपुग्यो सिंहदरबार ?’ लाई नयाँपन दिँदै ‘प्रदेशबाट देखिने देश’ विषयमा मुख्यमन्त्रि पृथ्वी सुब्बा गुरुङ वक्ता छन् भने त्यसलाई सहजीकरण बसन्त बस्नेतले गर्दैछन् ।

अघिल्लो वर्षको ‘अध्यानको भोक’ र यसवर्ष ‘पढने हुटहुटी’ विषय आपसमा मिलेपनि यसवर्षको संस्करणमा वक्ता हरि खनाल,मनुश्री महत र विकेश कविन रहेका छन् जसलाई सहजिकरण स्वेच्छा राउतले गर्दैछिन् ।

यता अघिल्लो वर्षको ‘अबको नेतृव कस्तो ?’ लाई केही नयाँ स्वाद दिएर ‘युवाको नजरमा देश’ विषयमा वक्ता प्रकृति भट्टराई बस्नेत, डा भावना तामाङ र सौक्षत वाग्ले रहेका छन् जसलाई सहजिकरण जगन्नाथ लामिछानेले गर्दैछन् ।

यसवर्ष कोरोनाका कारण फेस्टिभल हुन्छ कि हुँदैन अन्योल थियो । तर यसलाई भर्चुअचल मार्फत भएपनि निरन्तरता दिनुपर्ने आवाज उठेपछि फेस्टिभल आयोजनामा आफुहरु जुटेको फेस्टिभलका निर्देशक अजित बराल बताउँछन् ।

उसो त कोरोनाकै बिच यही पुष १४ गतेदेखि पोखरा सडक महोत्सव हुँदै छ । जसमा हरेक वर्ष फेस्टिभलका भन्दा बढी संख्यामा मानिसको उपस्थिति स्वत धेरै पाइन्छ । अब पनि भर्चुअल रुपमै किन फेस्टिभल आयोजना गर्नुपर्ने भन्ने जिज्ञासामा कार्यक्रमलाई थोरै नयाँपन र सुरक्षित बनाउन लागेको फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारी बताउँछन् । ‘भौतिक रुपमा दर्शक एवम् श्रोताको उपस्थितिमा कार्यक्रम गर्ने धोको थियो,’ उनले भने,‘तर कोभिडको बढ्दो सङ्कमण र सरकारको स्वास्थ्य मापदण्ड पालना गर्नुपरेकोले त्यो सम्भव भएन ।’

अघिल्ला वर्षहरुमा कार्यक्रम फेवाताल किनार बाराहीघाटमा सम्पन्न हुन्थे तर यसवर्ष सराङ्कोटमा हुने भएको छ । साथै फेस्टिभलका लागि यसवर्ष महानगर र गण्डकी प्रदेश सरकारले बजेट समेत छुट्टाएको छ । महानगरको ५ लाख र प्रदेशको १० लाख गरि फेस्टिभलले सरकारको १५ लाख सहयोग पाएको हो ।

कमेन्टहरु
Loading...