भर्चुअल रुपमा आयोजना हुँदै छ यो वर्षको आइएमई लिटरेचर फेस्टिबल

पोखरा । आइएमई लिटरेचर फेस्टिबल यो वर्ष पोखरामा आयोजना हुँदै छ ।

यही पुस १४ र १५ अर्थात् डिसेम्बर २९ र ३० डिसेम्बरमा भर्चुअल रुपमा हुने फेस्टिबल पोखरामा आयोजना हुने आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर बुकवर्म फाउन्डेसनले जानकारी दिएको हो ।

फेस्टिबलका कार्यकारी निर्देशक निरज भारीले कार्यक्रममा कोरोना भाइरसको महामारीका कारण यो वर्षको फेस्टिबल भौतिक रुपमा आयोजना गर्न नसकिने बताए । भौतिक रुपमा नै दर्शकहरुको उपस्थितिमा फेस्टिबल आयोजना गर्ने चाहना भए पनि परिस्थितिले सम्भव नभएको उनको भनाई थियो । उनले यो वर्षको कार्यक्रममा नयाँ वक्ताहरुलाई बढी प्राथमिकता दिइएको समेत जानकारी दिएका छन् । वक्तामात्र उपस्थिति भएर आयोजना हुने कार्यक्रमका क्रममा सरकारको स्वास्थ्य मापदण्डलाई भने पूर्ण रुपले पालना गरिने उनले बताए । फेस्टिबललाई भर्चुअल रुपमा भएपनि निरन्तरता दिनुपर्छ भन्ने आफूहरुको मान्यता रहेको उनको भनाई थियो ।

त्यस्तै फेस्टिबलका निर्देशक अजित बरालले कोरोना भाइरस संक्रमणको कहरमा फेस्टिबल नै आयोजना गर्ने कि नगर्ने भन्ने दोधारका बीच आफूहरु आयोजना गर्ने निर्णयमा नै पुगेको बताए । फेस्टिबलको नवौं संस्करणका क्रममा वक्ताहरु पनि नयाँ हुने र हरेक कार्यक्रम युट्युबमार्फत प्रसारण हुने उनको भनाई छ ।

यसैगरी फेस्टिबलको सह–आयोजक संस्था ¥याण्डम रिर्डस् सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले पोखरालाई प्राकृतिक सुन्दरता बाहेक साहित्यको माध्यमबाट समेत विश्व सामु चिनाउनु आफूहरुको उद्देश्य रहेको बताए ।

कार्यक्रममा आयोजक संस्थाकी सदस्य अनि कर्माले यो फेस्टिबलले युवामाझ पढ्ने संस्कृतिको विकास भएको बताइन् । कोभिड १९ का कारण प्रत्यक्ष रुपमा भेट सहित कार्यक्रम आयोजना गर्न असर्मथ रहेको भए पनि युट्युबमार्फत् आफूहरुले आउने उनले बताएकी छिन् ।

नवौं संस्करणको यो फेस्टिबलमा १५ सेसन तथा ४० भन्दा बढी वक्ता रहने आयोजकले जानकारी दिएको छ । सबै सेसन युट्युबमार्फत् प्रसारण हुने भएका छन् । नवौं संस्करणको लिटरेचर फेस्टिबलमा लेखिका बिना थिङ, वातावरण पत्रकार रमेश भुसाल, आइएमई ग्रुपका अध्यक्ष तथा सहसंस्थापक चन्द्रप्रसाद ढकाल, हिमालयन क्याइमेट इनिसियटिभकी प्रमुख सिलसिला आचार्य, वरिष्ठ पत्रकार राजकुमार बानियाँ, डा.रोलिना धिताल, तारागाउँ संग्रहालयका निर्देशक रोशन मिश्र, नेपाली चलचित्र निर्देशक निश्चल बस्नेत लगायत वक्ताहरु रहने छन् ।

भर्चुअल रुपमा हुने यो संस्करणको लिटरेचर फेस्टिबलमा कोरोनाकालीन उद्योग वाणिज्य, युवाको नजरमा नेपाल, पढ्ने हुटहुटी, कोरोनाले गलाएको जनस्वास्थ्य, के सम्पदा के बसोबास, कर्मठ केटीहरु, कोरोनापछिको सिनेमा, संघीयताका अवसरहरु, महारानीको राजनीति, जलवायु परिर्वतन र हाम्रो भभिष्य, प्रदेशबाट देखिने देश, भद्भुत व्यक्तित्व असाधारण लेखन, ती आख्यान, क्वेयर हुनुको अर्थ सहित १६ वटा शीर्षकमा छलफल हुने आयोजकले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...