दिपक के श्रेष्ठ
सडक भन्नु सभ्यता हो । त्यस क्षेत्रको सभ्यता, विकास र जीवनशैलीलाई त्यहाँको सडकको अवस्थाले प्रतिनिधित्व गर्छ । गणतन्त्रपछि पोखराले देशकै ठूलो ‘महानगर’ बन्ने सौभाग्य पायो ।
महानगरले नगरपिताकारुपमा मानबहादुर जिसी पाएसँगै पोखरामा सडक सँधै व्यंग्यको निशानामा पर्दै गएको छ । आखिर किन ? मेयर निर्वाचित भएपछि जिसीले पोखराको सडकमा खाल्डो देख्न नपाइने उद्घोष गरे । नगरक्षेत्रका खाल्डाखुल्डी १ घण्टाभित्र पुर्ने योजनालाई मूर्तरुप दिन उनले समिति नै बनाए । तर, बोले अनुसारको काम गराई भएन । फलतः सडकले महानगर र नगरपितालाई बद्नाम गरायो ।
यही मेसोमा लकडाउनकैबीच भदौ १५ गते जागौ पोखरा अभियानका सदस्यहरु सडकका खाल्डा पुर्न अघि सरे । बर्खायाममा सडकका खाल्डाखुल्डीबाट आहत भएका सवारीचालक र सर्वसाधारणहरु हिलोले झनै सताइए । अभियानको व्यंग्यपछि महानगरले खाल्डो पुर्न धेरथोर काम गरेपनि त्यो पूर्ण र स्तरीय हुन सकेन ।
महानगरको ध्यान विपिचोक र सभागृहबीचको मूल सडकमा केन्द्रित भयो । सिमित ठाउँलाई सुविधासम्पन्न पार्ने धुनमा अन्यत्रको सडकको दूर्दशाले निरन्तरता पायो । यसपछि पछिल्लो समयमा पोखराका एक पत्रकारले आफ्नै खर्चमा सडकको खाल्डो पुर्ने उद्घोष गरे ।
उनले शुक्रबार राति पोखराका महेन्द्रपुल, नयाँबजार, पालिखेचोकलगायतका सडकमा रहेका खाल्टामा गिट्टी भरे । गिट्टी भर्दा ठिकै देखिएको सडकमा अहिले तिनै गिट्टी उछिट्टिएर अन्य सवारीचालक र पैदलयात्रीलाई घाइते बनाउने खतरा छ ।
उल्लेखित अभियान र व्यक्तिको शैली केवल महानगरलाई व्यंग्य गर्नु, झक्झक्याउनु हो । नागरिकको चेतनास्तर बढ्दै जाँदा यस्ता गतिविधिलाई सांकेतिक विरोधकारुपमा बुझ्नु पर्छ । नगरपितामाथि गरिएको व्यंग्य र दिइएको दबाबलाई बुझ्ने काम भएको छैन वा गरिएको छैन ।
महानगर अगाडीको करिब डेढ किलामिटरबाहेकका अन्य सडकको अवस्था टिठलाग्दो छ । सडककाबीचमा भारतीय चलचित्र गजिनीका हिरोको टाउकामा झै तेर्साे खत छ । त्यसरी खत बस्ने गरी सडकलाई घाइते बनाउने अंशियारहरुमा नेपाल टेलिकम र खानेपानी संस्थान छन् । खन्ने र माटोले पुर्ने गर्दा सडक क्षतविक्षत भएको छ ।
ढलको उचित व्यवस्था नहुनु र अस्वभाविक वर्षाले वर्षेनी कम बजेटमा हुने सडक मर्मत प्रक्रिया टालटुले शैलीमा चलेको छ । पोखरामा हालसम्म अपनाइएका सडक निर्माण र जीर्णाेद्धारका काम प्रविधिसंगत हुन नसकेको देखिन्छ ।
यससँगै, हाल आएर पार्किङ शूल्कको विरोधमा सडक नै ‘इस्यु’ बनेको छ । महानगरले पार्किङको नाममा सडक भाडामा दिएको आरोप छ । यही आरोप लगाउँदै दैनिक धर्ना र विरोधका काम भइरहेका छन् । नगरपिता जिसीको टाउको दुखाई सडककै गञ्जागोलले बढेको हुनसक्छ । तर यसको उपचार पद्दतिमा जिसी पुग्न सकेका छैनन् । आफ्नै बेमौसमी प्रतिबद्धता उनका लागि घाँडो भएको छ ।
सडकसँगै सम्बन्धित ट्राफिक बत्ति, पुराना र साइज नमिलेका पोलमा जेलिएका तार, केबल र इन्टरनेटका लाइनले सडक सौन्दर्य खस्किएका छन् । जेब्राक्रसको व्यवस्था हुन सकेका छैनन् । सडक नियम पालना गर्न चालकहरु दिक्षित भएका छैनन् । मेयर जिसीको कार्यकाल मुस्किलले २ वर्ष बाँकी छ । यस्तो लाग्छ उनले काम गर्न हैन आलोचना सुनेर समय कटाउन त्यति समय बाँकी छ ।
व्यक्ति, पत्रकार वा समूहले गरेको विरोध रचनात्मक छ । यस्तो उदार शैलीलाई महानगरपालिकाले कमजोर आँक्छ । मेयरले बुझ्न जरुरी छ, सडक सभ्यता हो, विकास र जीवनशैली हो । सडकको स्तरोन्नती नागरिकको उन्नती हो ।