फ्रान्सेली राष्ट्रपति म्याक्रोंलाई कोरोना पोजेटिभ, कैयौं उच्च अधिकारी आइसोलेसनमा

एजेन्सी । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंलाई कोरोना पोजेटिभ देखिएको समाचारमा जनाइएको छ । बिहीबार उनलाई कोरोना पोजेटिभ देखिएको प्राप्त समाचारमा जनाइएको छ । अब उनी आइसोलेसनमा बस्न लागेको उनकी कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनलाई बिहीबार पिसिआर पोजेटिभ देखिएको र अब आगामी ७ दिनका लागि उनी आइसोलेसनमा बस्ने फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ । उनले आफू आइसोलेसनमा रहेता पनि त्यहाँबाटै गर्न मिल्ने, अनलाइनबाट गर्न मिल्ने कामहरु भने गर्ने पनि बिहीबार राष्ट्रतिको कार्यालयद्धारा जारी गरिएको सो विज्ञप्तिमा जानकारी गराइएको छ ।

उनी आगामी मंगलबार र बुधबार लेबनान जाने कार्यक्रम रहेको थियो । अब उनी कोरोना पोजेटिभ देखिएपछि उनको सो भ्रमण पनि अहिलेका लागि स्थगित भएको बताइएको छ । यसैबीच फ्रान्सका प्रथम महिला ब्रिगिटे म्याक्रोंको परीक्षणमा भने उनको कोरोना भाइरस नेगेटिभ देखिएको बताइएको छ । राष्ट्रपति म्याक्रोंलाई प्रारम्भिक रुपमा केही लक्षणहरु पनि देखिएको समाचारमा जनाइएको छ । तर प्रथम महिलालाई भने कोरोना भाइरसको परीक्षणमा नेगेटिभ देखिएको र कुनै लक्षण पनि नदेखिएको बताइएको छ ।

यसैबीच राष्ट्रपति म्योक्रोंलाई कोरोना भाइरस पोजेटिभ देखिएसँगै उनको सम्पर्कमा रहेका फ्रान्सका कैयौं उच्च सरकारी अधिकारीहरु पनि आइसोलेसनमा बस्नुपर्ने भएको बताइएको छ । फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेक्स पनि राष्ट्रपति म्याक्रोंको सम्पर्कमा रहेकाले उनलाई पनि आइसोलेसनमा बस्नुपर्ने भनिएको छ । तर पनि उनमा कुनै लक्षणहरु भने नदेखिएको पनि समाचारमा उल्लेख गरिएको छ ।

यसका साथै केही मन्त्रीहरु र अरु केही उच्च सरकारी अधिकारीहरु पनि राष्ट्रपति म्याक्रोंको निरन्तर सम्पर्कमा रहेकोले उनीहरुलाई पनि आगामी केही दिन आइसोलेसनमा बस्नुपर्ने बताइएको छ । फ्रान्सको सरकारले बनाएको स्वास्थ्य सुरक्षा मापदण्डअनुसार उनीहरु आगामी केही दिनका लागि आइसोलेसनमा बस्नुपर्ने भएको हो । रासस

कमेन्टहरु
Loading...