लमजुङमा सुन्तला उत्पादन घट्दै

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा सुन्तला उत्पादनमा वर्षेनी निकै कम हुँदै गएको पाइन्छ । सुन्तलाको बोट पुरानो हुनाका साथै रोग र कीरा लागेका कारण उत्पादनमा वर्षेनी कम हुँदै गएको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ ।

कुनै बेला जिल्लामा सबैभन्दा बढी सुन्तला उत्पादन तथा बिक्री गरेर आम्दानी गर्नेमध्येमा १ बेंसीसहर नगरपालिका वडा नं. ११ चिती स्याउतका किसान भगवती पन्त थिइन् । उनी सुन्तला बिक्रीबाट वार्षिक ६ देखि ८ लाखसम्म आम्दानी गर्थिन् ।

परिवारसमेत सुन्तलाबाट आएको आम्दानीले राम्रै चल्ने गरेको थियो । अचानक केही वर्षदेखि भने सुन्तला बगैंचामा कीरा लाग्ने र बोट सुक्दै जाने भएकाले कम फल्दै आएको छ । यस वर्ष त मुश्किलले २ लाख मात्रै आम्दानी गरिएको उनले बताइन् । उनी केवल एउटा प्रतिनिधि मात्र मात्रै हुन् । उनी जस्तै जिल्लाका अधिकांश सुन्तला किसानको समस्या उस्तै छ । सुन्तला खेतीमा भविष्य देखेका र बनाउँदै गरेका किसान कीरा र रोगका कारण आम्दानी घटेकामा निराश तथा चिन्तित बनेका छन् ।

लटरम्मै फल दिँदै राम्रो आम्दानीको स्रोत बन्दै आएको ती सुन्तलाका बोटले फल दिन नसक्दा साविक जिल्ला कृषि विकास कार्यालयमा पकेट क्षेत्रमा सूचीकृत स्याउत गाउँमा केही वर्षदेखि सुन्तला उत्पादनमा कम हुँदै गएको छ । स्याउतका किसानले वर्षेनी करीब २ करोड आम्दानी गर्ने गरे पनि सुन्तलामा आएको विविध समस्याका कारण ६ वर्षदेखि भने १४/१५ लाखमात्र आम्दानी हुने गरेको किसानको भनाई छ । विगतमा यहाँका सुन्तला राम्रो हुँदा व्यापारीले बोटमै आएर लैजाने गर्थे ।

त्यस्तै विगत वर्षमा जिल्लाकै राम्रो उत्पादन तथा आम्दानी गर्ने बगैंचाका रुपमा चिनिँदै आएका कुन्छा, भोर्लेटार, चिती, दुराडाँडा, राइनास, गाउँसहर, भोजे, उदिपुर क्षेत्रलगायत ठाउँमा समेत उत्पादनमा कमी हुँदै आएको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङका अर्थविज्ञ मदन रेग्मीले बताएका छन् । उनले भने, ‘जिल्लाबाटै सुन्तला खेती नै मासिने अवस्थामा पुगिसकेको छ ।

पुराना तथा रोगी बगैंचा नाश गर्दै एक हजार मिटरभन्दा माथि लगाइएका नयाँ सुन्तलाको बिरुवा ल्याएर व्यवस्थापन राम्रो गर्न सकेमा पहिलाकै लयमा जिल्लाका सुन्तला उत्पादन फर्किन सक्ने उनको भनाई छ । कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार यस वर्ष ३ सय २ हेक्टर क्षेत्रफलमा गरिएको सुन्तला खेतीबाट १ हजार ४ सय २४ मेट्रिक टन उत्पादन भएको छ । गत वर्षका तुलनामा यस वर्ष ४ सय ७१ मेट्रिक टन सुन्तला उत्पादनमा कमी आएको छ ।

गत वर्ष जिल्लामा २ सय ८५ हेक्टर क्षेत्रफलमा गरिएको सुन्तला खेतीबाट १ हजार ८ सय ९५ मेट्रिक टन उत्पादन भएको थियो । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७४/२०७५ मा ४ सय ९३ क्षेक्रफलबाट ३ हजार ९ सय ९३ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७३/२०७४ मा ५ हजार २ सय ७४ मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयको तथ्यांकमा छ ।

जिल्लामा उत्पादन भएका सुन्तला काठमाडौं, पोखरा, चितवनलगायत सहरमा राम्रो खपत हुने गरे पनि उत्पादनमा कमी हुँदा किसान निराश भएका छन् । लमजुङमा १ हजार २ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिए पनि ५ सय हेक्टर क्षेत्रफलमा मात्र सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ । जिल्लामा सुन्तला उत्पादनमा कमी हुँदा वर्षेनी बाहिरी जिल्लाबाट खपत गर्न उपभोक्ता तथा स्थानीयवासी बाध्य छन् । यतिबेला जिल्लामा उत्पादन कम भएपछि बाहिरी जिल्लाबाट ल्याइएका सुन्तला प्रतिकिलो १ सय ५० देखि १ सय ८० सम्म तिरेर उपभोक्ताले खरिद गरिरहेका छन् । रासस

कमेन्टहरु
Loading...