नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा डेभ वाटमोर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका डेभ वाटमोर नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले वाटमोरलाई राष्ट्रिय टोलीका प्रशिक्षक नियुक्त गरेको हो । वाटमोरले आगामी जनवरी १ तारिकदेखि नेपाली क्रिकेट टोलीलाई सम्हाल्ने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका छन् । क्यानले नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षकका लागि गत कात्तिक अन्तिम साता अन्तर्वार्ता लिएको थियो ।

श्रीलंकामा जन्मिएका ६६ वर्षीय वाटमोर अस्ट्रेलियाका पूर्वक्रिकेट खेलाडी रहेका छन् । उनकै प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ को एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको उपाधी जितेको थियो । उनले सन् २००३ देखि सन् २००७ सम्म बंगलादेशका प्रशिक्षकका रुपमा काम गरेका थिए । वाटमोरले भारतको यु–१९ क्रिकेट टोलीलाई पनि प्रशिक्षण दिएका थिए । यस्तै उनले सन् २०१० र २०११ को याममा इन्डियन प्रिमियर लिग (आइपीएल) मा कोलकता नाइट राइडर्सलाई प्रशिक्षण दिएका थिए ।

वाटमोर सन् २०१२ देखि सन् २०१४ सम्म पाकिस्तानको प्रशिक्षक बनेका थिए । यस्तै सन् २०१४ मा वाटमोरले जिम्बावेको प्रशिक्षकका रुपमा काम गरेका थिए । उनी सन् २०२० मा सिंगापुरको प्रशिक्षक बनेका थिए । वाटमोर श्रीलंकाको कोलम्बोमा जन्मिएका हुन् । सन् १९६२ मा उजको परिवार अष्ट्रेलिया बसाइ सरेको हो । वाटमोरले सन् १९८९ मा खेल जीवनबाट सन्यास लिएका हुन् । त्यसपछि उनी विभिन्न देशमा प्रशिक्षकका रुपमा काम गर्दै आएका छन् ।

क्यानले गत भदौमा मुख्य प्रशिक्षकका लागि खुल्ला आवेदन आह्वान गरेको थियो । मुख्य प्रशिक्षकका लागि ७२ जनाले आवेदन दिएका थिए । क्यानले पहिलो चरणमा २५ जनाको नाम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) लाई पठाएको थियो । अन्तिममा १२ जनाको अन्तर्वार्ता लिएको थियो ।

गत वर्ष माघमा भारतीय प्रशिक्षक उमेश पटवालले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । पछिल्लो समय जगत टमटाले खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन् । यस्तै क्यानले रौनकबहादुर मल्ललाई महाप्रबन्धक, रमेशकुमार न्यौपानेलाई मुख्य वित्त व्यवस्थापक तथा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान विनोद दासलाई क्रिकेट व्यवस्थापकमा नियुक्त गरेको छ । रासस

कमेन्टहरु
Loading...