पोखरा । मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेतासहित प्रतियोगितालाई सफल बनाउन भूमिका खेल्ने खेलाडी तथा संस्थालाई सम्मान गर्ने भएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका संयोजक तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले बिहीबार सम्मान गरिने बताएका हुन् । एकेडेमीले विज्ञप्ती जारी गर्दै १३ औं सागमा बक्सिङका स्वर्ण पदक विजेता नेपाल पुलिसका भुपेन्द्र थापा मगर, नेपाल आर्मीकी मिनु गुरुङ र सनिल शाहीलाई सुनको पदक सहित सम्मान गर्ने जनाएको छ ।
त्यसैगरि साग अन्तरगत पोखरामा भएका ८ वटा प्रतियोगितालाई सफल बनाउन भूमिका खेल्ने संघ, विषयगत समिति, पत्रकार महासंघ गण्डकी प्रदेश, पत्रकार महासंघ कास्की र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई समेत सम्मान गर्ने भएको छ ।
संयोजक गुरुङका अनुसार अफ्ठ्यारोमा रहेका र हाल उपचारर्थ खेलाडी तथा दिवंगत भएका खेलाडीका परिवारलाई सहयोग, हालै निधन भएका प्याराग्लाइडिङका पाइलट, वडी विल्डिङ तथा क्योकिशन कराते खेलाडी स्व.राजु गैरे (नेपाली) को परिवारलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ नगद सहयोग, पोखरामा रहेर महिला भलिबल खेलाडी उत्पादन गर्न अहम भूमिका खेल्ने पूर्व भलिबल खेलाडी तथा प्रशिक्षक समेत रहेका जीवन चौधरीलाई ७० हजार ७ सय ७० रुपैयाँ, गत वर्ष सम्पन्न ढोरपाटन महिला राष्टिय भलिवल प्रतियोगितामा खेल्ने क्रममा घाइते भएकी राष्ट्रिय महिला भलिबल खेलाडी लक्ष्मी कुमाललाई २१ हजार १ सय ११ रुपैयाँ, पोखरामा भएको क्लबस्तरीय क्रिकेट प्रतियोगितामा फिल्डिङ गर्ने क्रममा घाइते भएका सन्तोष न्यौपानेलाई ३० हजार ३ सय ३० रुपैयाँ, टेनिसका खेलाडी स्व.सुरज नगरकोटीको परिवारलाई ५० हजार ५ सय ५० रुपैयाँ आर्थिक सहयोग गर्ने कार्यक्रम रहेको छ ।
यो सँगै हालै मित्र राष्ट्र भारतमा सम्पन्न वल्र्ड पावर लिफ्टिङ च्याम्पियनशिपमा पदक जित्ने ३ जना खेलाडीलाई समेत सम्मान गर्ने गुरुङले जानकारी दिएका छन् । त्यसैगरि एकेडेमीले पोखरा रंगशालामा कार्यरत श्याम विश्वकर्मा, विभा विश्यकर्मा र सुक बहादुर गुरुङलाई समेत नगद सहित सम्मान गर्नेछ । सम्मान कार्यक्रमकै विच एकेडेमीले रक्तदान कार्यक्रम पनि आयोजना गर्ने एकेडेमी संयोजक राजेश कुमार गुरुङले जानकारी दिएका छन् ।