रिना थापा
म्याग्दी बहुमुखी क्याम्पसका स्ववियु उपसभापति इश्वर सुवेदीले रकम हिनामिना गर्दा सोही विद्यालयका एक विद्यार्थीले व्यवस्थापन संकाय स्नातक तहको चौथो वर्षको परीक्षा दिन नपाउने भएका छन् ।
मंसिर २९ बाट सुरु हुने परीक्षामा सहभागी हुन एक दिनअघि क्याम्पसमा प्रवेशपत्र लिन पुगेका शिव आचार्य निराश मुद्रामा रित्तो हात फर्किए । उनले गतवर्षको पुस १ गते क्याम्पसको वार्षिक शूल्क र परीक्षा शूल्क बुझाइदिन विद्यार्थी नेता इश्वर सुवेदीको खातामा २२ हजार ५ सय रुपैयाँ पठाएका थिए ।
आवश्यक सबै शूल्क बुझाएर ढुक्क भएका आचार्य प्रवेशपत्र लिन क्याम्पस पुग्दा भने उनले शूल्क भुक्तानी नभएको जानकारी पाए । म्याग्दी मालिका गाउँपालिका ६ दरबाङ घर भएका आचार्य उतै बसेर सहकारीमा जागिर गर्थे । बेनी सदरमुकामबाट क्याम्पस करीब अढाई घण्टाको दुरीमा पर्ने र कार्यव्यस्तताका कारण उनले विद्यार्थी नेता तथा जिम्मेवार व्यक्तिका रुपमा सुवेदीलाई रकम पठाएका थिए ।
आचार्यले विश्वस्त र जिम्मेवार नेतालाई पैसा पठाउँदा धोका पाएको बताए । उनले भने, विद्यार्थी नेतालाई नै विश्वास गर्दा यस्तो अवस्था आयो ।’ विद्यार्थी नेता गैरजिम्मेवार र लापरवाह हुनसक्ने विश्वास नगरेको उनको कथन छ ।
यसबोर उनले पटकपटक सुवेदीसँग बुझ्दा क्याम्पसमा बुझाएको विवरण कोठामा भएको बताएपछि ढुक्क भएको बताए । परीक्षाबाट वञ्चित भएपछि उनले सुवेदीलाई कारवाहीको माग गरेका छन् । ‘आफनो भविष्यसँग खेलवाड भएपनि अरु विद्यार्थीको भविष्यमा यस्तो लापरवाही नहोस्’ उनले बताए ।
आचार्यले प्रवेशपत्र नपाएपछि सुरुवातमा सुवेदीले पोखरा फोन गरेर कुरा मिलाउने बताएका थिए । कुरा नमिलेपछि उनले आपसी समझदारीमा मिल्नु पर्ने भन्दै कुरा बाहिर नल्याउन आग्रह समेत गरेका थिए ।
यस विषयमा क्याम्पस संचालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले क्याम्पसमा सल्लाह भइरहेको जानकारी दिए । उनले लापरवाही गर्ने व्यक्तिलाई कारवाही हुने बताउँदै क्याम्पस प्रशासनको गल्ती नभएको जिकिर गरेका छन् ।
उनका अनुसार विद्यार्थी फर्म छुट्यो भनेर आधिकारिकरुपमा क्याम्पसमा गुनासो गर्न आएका छैनन् । आफै आएर भर्नुपर्ने फर्म अरुको सहारामा छोड्दा सुवेदीको पनि गल्ती देखिएको उनको धारणा छ । क्याम्पसले उनलाई परीक्षामा सहभागी गराउन अब सम्भव नभएको जनाएको छ ।
यता स्ववियुका कार्यवाहक सभापति इश्वर सुवेदीसँग यस विषयमा थप कुरा बुझन खोज्दा यसबारे छलफल हुँदैछ भन्ने छोटो प्रतिक्रिया दिएर फोन काटे । पुनः फोन गर्दा उनले उठाएनन् ।